नक्कली पीसीआर रिपोर्ट बनाएको आराेपमा ट्राभल्स एजेन्सीका संचालक पक्राउ – Nepal Press

नक्कली पीसीआर रिपोर्ट बनाएको आराेपमा ट्राभल्स एजेन्सीका संचालक पक्राउ

झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई नक्कली पक्राउ गरेको हो ।

साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी इडिट गरेर नाम खाली राखी पीसीआर नेगेटिभ भएको रिपोर्टहरू सेभ गरि राखेको, नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरेको तथा विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई डिजिटल स्क्यान गरी इडिट गरेर सेभ गरी राखेको फेला परेको छ ।

थप अनुसन्धानको क्रममा बरामद हुन आएको मेची अञ्चल अस्पतालको १ थान पीसीआर रिपोर्ट उक्त अस्पतालबाट तयार नभई किर्ते गरेको खुल्न आएको छ ।

उनी उपर झापा जिल्ला अदालतबाट लिखत सम्वन्धी कसूरको अनुसन्धानको लागि ७ दिन म्यादथप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *