चितवन निकुञ्जको गस्तीमा गएका सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते – Nepal Press

चितवन निकुञ्जको गस्तीमा गएका सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्न गएको नेपाली सेनाको टोलीका एक सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते भएका छन् । गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई नै लागेपछि उनी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको थियो ।

हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेपछि उनी घाइते भएका छन् । घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको डिएसपी रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार भरतपुर अस्पतालमा उपचाररत सिंह खतरामुक्त छन् । यद्यपि उनको थप उपचारको लागि नेपाली सेनाको अस्पताल छाउनी रिफर गरिएको छ । डिएसपी रिजालका अनुसार भालुले आक्रमण गरेका हवल्दार लक्ष्मणकुमार थापा भने सामान्य घाइते छन् ।

आज बिहान पौने दस बजेको घटना भनिएपनि यस घटनाका बारेमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले भने आधिकारीक रुपमा कुनै पनि सूचना दिएको छैन । निकुञ्जका वार्डेन दिलबहादुर पूर्जा पुनले घटना भएको भएपनि विवरण भने लिन बाँकी नै रहेको बताए । उनले घटनाबारे सबै प्रतिवेदन आएपछि मात्रै आफूले जानकारी दिनसक्ने उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर