सुदूरपश्चिमका १३ सयभन्दा बढी सामुदायिक वनमा आगलागी – Nepal Press

सुदूरपश्चिमका १३ सयभन्दा बढी सामुदायिक वनमा आगलागी

डोटी । सुदूरपश्चिम प्रदेशका झण्डै एक हजार तीन सय ४० सामुदायिक वनहरूमा आगलागी भएको छ । प्रदेश बन निर्देशनालयले दिएको जानकारी अनुसार सामुदायिक वनहरूमा प्रत्येक दिन आगलागी भइरहेको छ ।

‘जिल्लाहरूबाट आएको सूचना अनुसार हालसम्म ४० प्रतिशत सामुदायिक वनहरूमा आगलागी भएको छ’ प्रदेश बन निर्देशक हेमराज विष्टले भने ‘अझै आगलागी भएका सूचनाहरू आइरहेका छन् ।’

विष्टका अनुसार सुदूरपश्चिम प्रदेशमा तीन हजार तीन सय ५० सामुदायिक बन रहेका छन् । उनले भने अनुसार करिब एक हजार ३४० सामुदायिक वनमा डढेलो लागेको छ ।

उनले आगलागी भएका सबै वनहरू पूर्ण रूपमा क्षति नभएको तर केही वनहरूमा धेरै क्षति भएको बताए ।

‘आगलागी प्रत्येक वर्ष भइरहेको छ, प्रत्येक वर्ष आगोले ठुलो धनजनको क्षति भइरहेको छ’ विष्ट भन्छन् ‘पहाडमा सल्लाका पातहरू हुन्छन् छिट्टै आगो टिपिहाल्छ, तराईमा पनि गर्मी याममा सुकेका पातहरू भएका कारण आगो छिट्टै फैलिन्छ ।’

उनी जानकारी नभएका कारण जङ्गलमा आगो लगाउने नभई केही व्यक्तिको लापरबाहीका कारण आगो लाग्ने गरेको बताए ।

उनी थप्छन् ‘केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि वनजंगलमा आगो लगाउने गरेको छन् ।’

आगो निभाउने क्रममा पनि उपभोक्ताहरूले लापरबाही गर्ने गरेको विष्टको भनाई छ । ‘आगो लागेको ठाउँमा जान्छन्, निभाएजस्तो मात्रै गर्छन्’ निर्देशक विष्ट भन्छन् ‘आफ्नो बन हो सोचेर जिम्मेवार हुँदैनन् ।’

आगो निभाउनका लागि ब्याक पम्प लगायत सहयोगी सामग्रीहरूको अभाव रहेको समेत विष्टले बताए ।

डोटीमा ५० सामुदायिक बनमा आगलागी

डोटी जिल्लामा पनि दिनहुँ जङ्गलमा आगलागी भइरहेको डिभिजन बन कार्यालय, डोटीका डिभिजन अधिकृत गोकुल रिजाल बताउँछन् ।

‘हालसम्म ५० वटा सामुदायिक बनमा आगलागी भइसकेको छ’ रिजालले भने ‘करिब २५ हेक्टर वनजंगल डढेलोको जोखिममा रहेको छ ।’

फागुन १५ देखि जेठ १५ सम्मको आगलागीको उच्च जोखिमको समय भएका कारण सबैले सतर्कता अपनाउनु पर्ने रिजाल बताउँछन् ।

‘जङ्गलमा कसले आगो लगायो भन्ने पत्तै हुँदैन’ रिजाल भन्छन् ‘आगो लगाउने व्यक्तिलाई कारबाही गर्न सक्यो भने आगलागीका घटनाहरू कम हुने थिए ।’ स्थानीय तहका जनप्रतिनिधिहरू र स्थानीयवासीले पनि आगो लगाउने व्यक्तिको विषयमा सूचना दिनु पर्ने रिजालको भनाई छ ।

आगलागीबाट वर्षेनी वन्यजन्तु, वनस्पति, चराचुरुङ्गीहरूको क्षति भइरहेको रिजालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर