मतपत्र च्यात्ने कार्यकर्ता र सदर गर्ने प्रमुख निर्वाचन आयुक्त माओवादीको निर्वाचन विभागमा नियुक्त – Nepal Press

मतपत्र च्यात्ने कार्यकर्ता र सदर गर्ने प्रमुख निर्वाचन आयुक्त माओवादीको निर्वाचन विभागमा नियुक्त

काठमाडौं । संवैधानिक अंगको प्रमुख र सदस्य भइसकेका व्यक्ति कुनै राजनीतिक पार्टीको विभागीय सदस्य बन्ने कि नबन्ने ? कानूनमा प्रष्ट नभए पनि अहिलेसम्म दलका कमिटीमै सक्रिय भएका उदाहरण पाइँदैनन् ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह भने सत्तारुढ नेकपा माओवादी केन्द्रको निर्वाचन विभागको सदस्य नियुक्त भएका छन् । अधिवक्ता खिमलाल देवकोटा नेतृत्वको विभागको २८ सदस्यीय टिममा यादव र शाह पनि समेटिएका हुन् ।

अझ रोचक संयोग त के देखिएको छ भने भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मतपत्र च्यातेकोलाई वैधानिकता दिएर पुनः मतदानको निर्णय गर्ने तत्कालीन निर्वाचन आयोगका दुवै पदाधिकारी यादव र साह एउटै विभागको सदस्य बनेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल पराजित हुने निश्चित देखिएपछि माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेका थिए ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगमा मुद्दा परेको थियो । एमालेसहित अन्य दलले च्यातिएका मतपत्रसहित गणना गर्नुपर्ने माग गरेका थिए । तर, सो गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने देखिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी यादव र साहसहित बहुमतले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

एमालेले मतपत्र च्यात्ने काममा सरकारदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसम्मको सेटिङ रहेको आरोप लगाएको थियो । अदालतले मतपत्र च्यात्नेमा द्रोण र मधुलाई दोषी ठहर गर्दै एक-एक लाख रूपैया जरिवानासमेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर