जानकी मन्दिरबाट राम मन्दिर पुग्यो कोसेली, भगवान रामको टीकाटालो हुँदै ! – Nepal Press

जानकी मन्दिरबाट राम मन्दिर पुग्यो कोसेली, भगवान रामको टीकाटालो हुँदै !

जनकपुरधाम । साताव्यापी सीता–राम विवाह पञ्चमी अन्तर्गत आज चौथो दिन तिलकोत्सव समारोह सुरु भएको छ ।

जानकी मन्दिरबाट साधु, सन्त, महन्थसहित हजारौं श्रद्धालु बाजागाजसहित १ सय १ पोका कोशेली (भार) बोकेर राम मन्दिर पुगेपछि तिलकोत्सव समारोह सुरु भएको हो ।

भगवान रामको टीकाटालो गर्न पुगेका साधुसन्त, महन्थ र श्रद्धालुलाई राम मन्दिरका महन्थ महन्थ राम गिरी दास लगायतले स्वागत गरेका थिए ।
तिलकोत्सव समारोहमा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र स्थानीय तहका जनप्रतिनिधिहरु समेत सहभागी छन् ।

अहिले गितनाद चलिरहेको छ । तिलकोत्सवमा मिथिलाको विवाहमा गरिने ठट्यौली समेत गर्दा त्रेतायुगको झझल्को दिन्छ ।

तिलकोत्सव समारोहमा सिताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका सहायक महन्थ रामरोषण दास बैष्णव र रामका पिता दशरथको भूमिका राम मन्दिरका महन्थ राम गिरी निर्वाह गर्नेछन् ।

भगवान रामको टीकाटालो पश्चात जानकी मन्दिरका सहायक महन्थ रामरोषण र राम मन्दिरका महन्थ राम गिरीले सम्धी मिलन गर्नेछन् ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि सिता–राम विवाह अर्थात विवाह पञ्चमिमा हुने गरेको छ ।

साताव्यापारी विवाह पञ्चमी अन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन धनुष यज्ञ सम्पन्न भइसकेको छ ।

आज चौथो दिन तिलकोत्सव सम्पन्न भएपछि भोली पाँचौ दिन मटकोर र छैठौं दिन स्वयम्वर तथा शुभविवाह कार्यक्रम गरिनेछ ।

सातौं दिन मंसीर २३ मा राम कलेवा पश्चात विवाह पञ्चमी विधिवत सम्पन्न हुनेछ ।

भारतको अयोध्यासहितका ठाउँबाट जन्तीको रुपमा आएका साधुसन्त र महन्थहरुलाई विशेष भोज खुवाउनुका साथै दानसहित विदाई गर्नुलाई राम कलेवा भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live