राजेन्द्र लिङदेनको प्यानल तयार, यी हुन् उपाध्यक्ष र महामन्त्रीका उम्मेदवार – Nepal Press
राप्रपा महाधिवेशन

राजेन्द्र लिङदेनको प्यानल तयार, यी हुन् उपाध्यक्ष र महामन्त्रीका उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिंङदेनले पदाधिकारी चुनावका लागि आफ्नो प्यानल फाइनल गरेका छन् । पार्टीका चार उपाध्यक्ष र महामन्त्री पदमा उनको पक्षबाट लड्ने उम्मेदवारहरु तय भएका हुन् ।

राप्रपामा एक महिलासहित चार उपाध्यक्ष प्रतिनिधिको भोटबाट निर्वाचित हुने व्यवस्था छ । महिला उपाध्यक्षमा लीला श्रेष्ठ लिङदेन समुहकी उम्मेदवार बन्ने भएकी छन् भने अन्य तीन उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय लड्ने टुंगो लागेको छ ।

नेता विक्रम पाण्डे प्रतिनिधहरुसँग भाेट माग्दै

यस्तै तीन महामन्त्री पदका लागि क्रमशः डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् । राप्रपामा एक महिलासहित ३ महामन्त्री रहने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्री बाहेकका पदाधिकारीको भने चुनाव हुँदैन । उनीहरुलाई अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

राप्रपामा १९९ केन्द्रीय सदस्यमध्ये १४९ जनाको चुनाव हुने छ । त्यसमा भने लिङदेनले उम्मेदवारको सूची बनाउन बाँकी नै छ ।

अध्यक्षका अर्का आकांक्षी कमल थापाको प्यानल भने टुंगो लागेको छैन । उक्त प्यानलबाट महिला महामन्त्रीमा भने कुन्ती शाही उठ्ने निश्चितप्राय छ ।

हिजोबाट सुरु भएको राप्रपा महाधिवेशन अन्तरगत आजबाट बन्दसत्र चलिरहेको छ । भोली निर्वाचन हुने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर