नेतृत्वमा लुम्बिनीका पुरानाले नछाड्ने, ५० जनाभन्दा बढी ‘डेब्यू’ गर्ने मुडमा – Nepal Press
एमाले महाधिवेशन

नेतृत्वमा लुम्बिनीका पुरानाले नछाड्ने, ५० जनाभन्दा बढी ‘डेब्यू’ गर्ने मुडमा

रुपन्देही । नेकपा एमालेको १५ जना पदाधिकारीहरुमा लुम्बिनीबाट को-को अटाउला भन्ने विषय अहिले चासो र चर्चाको विषय बनेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पदाधिकारीमा रहेका छन् ।

१० औं महाधिवेशनमा यी मध्ये युवराज ज्ञवाली अनुशासन आयोगमा जाने र बाँकी चारै जना पदाधिकारीमै रहने आंकलन गरिएकाे छ । यद्यपि ज्ञवाली पनि सर्वसम्मत भए उपाध्यक्षमै रहनसक्ने उनले आफू निकटका नेताहरुलाई सुनाएका छन् ।

अन्य नेताहरुले पनि अहिले भएको भन्दा माथिल्लो पद नभए सोही पदमा रहनेगरी नेतृत्वसँग आफ्नो दावी पेश गरेका छन् । यो सँगै ९ औं महाधिवेशनमा उपमहासचिवमा पराजित स्थायी कमिटी सदस्य शंकर पोखरेलले महासचिवमै दावी पेश गरेका छन् । यो पदका लागि विष्णु पौडेल मुख्य प्रतिस्पर्धी हुन् ।

त्यसैगरी संकटको बेला एमाले अध्यक्ष केपी ओलीलाई साथ दिएका माआेवादी नेताहरु टोपबहादुर रायमाझी र मणि थापाले पनि पदाधिकारीमै आकांक्षा राखेका छन ।

त्यसैगरी नेता ठाकुर गैरै र राधा ज्ञवालीले पनि सचिव पदमा आफ्नो उम्मेदारी रहनेगरी प्रचारमा छन्, भने स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि पदाधिकारीमा दलित प्रतिनिधित्वको आवाज उठाएका छन् ।

लुम्बिनीबाट नेता गिरीधारीलाल न्यौपाने, दलबहादुर राना, लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरे, बैजनाथ चौधरी, नजिर मियालगायतका सबै नेताहरु पुनः केन्द्रीय नेतृत्वमा आउनेगरी तयारी गरेका छन् ।

लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय नेतृत्वका लागि ५० भन्दा बढी आकांक्षी धेरै देखिएका छन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि लुम्बिनीका नेताहरुले आकांक्षा व्यक्त गरेपछि नेतृत्वलाई व्यवस्थापनमै चुनौती थपिएको छ ।

महाधिवेशन प्रतिनिधि चुनिएसँगै नेतृत्वका आकांक्षीहरुले शीर्ष नेतृत्वलाई दबाव दिने र उम्मेदवार घोषणाको तयारीमा अगाडि बढेका छन् ।

लुम्बिानीबाट नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय नेताहरुसँगै नेकपा बनेपछि पूर्वमाओवादीबाट एमालेमै रहेका नेताहरु टोपबहादुर रायमाझी, दधिराम शर्मा न्यौपाने, चन्द्रबहादुर खड्का, मणि थापा, गिरीधारीलाल न्यौपाने, दिनेश पन्थीलगायतका नेतालाई व्यस्था गर्नुपर्ने भएकाले नेतृत्वलाई चुनौती थपिएको हो ।

युवराज ज्ञवालीसँगै महासचिवको प्रचारमा सार्वजनिक भएका उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलको व्यस्थापन नेतृत्वलाई सकस पर्ने देखिएको छ ।

दुवैजना ओलीका निकट भएकाले दुईमध्ये एक महासचिवमा बन्ने पक्कापक्की भएको ओली निकट नेताहरुको दाबी छ । उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा छन् । सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पनि सम्मानजनक पदको खोजीमा छन् ।

सकेसम्म यी दुवैजना माथिल्लो तहको दाबीमा छन् । तर सर्वसहमति भएमा पुरानै पदमा रहन पनि उनीहरु तयार रहेको नेताहरु बताउँछन् ।

समावेशिताका हिसाबले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पदाधिकारीको दाबी गरेका छन् । ओली निकट भएकाले समावेशी कमिटी निर्माण गर्दा विश्वकर्मा छनौट हुन सक्ने अनुमान छ ।

त्यस्तै राधा ज्ञवालीले सचिवमा दाबी गरेकी छन् । यीबाहेक केन्द्रीय कमिटीमा भएका पुराना सबै दोहोरिने र नयाँ पनि उत्तिकै संख्यामा जान खोजेकाले सहमतिको संभावना निकै कम रहेको नेताहरुको विश्लेषण छ ।

लुम्बिनी एमालेको गढसमेत भएकाले नेताहरुले महत्वपूर्ण पदाधिकारीसहित केन्द्रीय कमिटीमा उपस्थिति दाबी गर्नु स्वाभाविक भएको एमालेका नेता तथा लुम्बिनीका प्रचारप्रसार विभागका संयोजक झपेन्द्र जीसी बताउँछन् ।

नयाँ आकांक्षीको दवाबमा नेतृत्व

लुम्बिनीमा केन्द्रीय कमिटीमा जानका लागि धेरै आकांक्षी देखिएका छन् । रुपन्देहीबाट भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, भूमिश्वर ढकाल, तुलसी चौधरी, बलबहादुर आचार्य, सावित्रा अर्याल, गोमा आचार्य, बासु घिमिरे केन्द्रीय सदस्यका नयाँ आकांक्षी थपिएका छन् ।

दाङबाट गंगा चौधरी, टीकाराम खड्का, घनश्याम पाण्डे, सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, नरूलाल चौधरी, कुलबहादुर खत्री केन्द्रीय सदस्यका आकांक्षी हुन् ।

कपिलवस्तुबाट बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार, विष्णु पन्थी केन्द्रीय सदस्यको दौडमा लागेका छन् ।

पश्चिम नवलपरासीबाट तुलसी पासी, बद्रीनाथ खनाल, विमला अर्याल, गुल्मीका दिनेश पन्थी प्युठानका हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेताले केन्द्रीय सदस्यका आकांक्षीका रुपमा नेताहरुलाई दबाब दिएका छन् ।

एमाले महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका धेरै नेताहरूले दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर