तितरबितर बन्दै ‘१० भाइ’, ओलीलाई रिझाएर आफूलाई सुरक्षित गर्ने रणनीति – Nepal Press
एमाले महाधिवेशन

तितरबितर बन्दै ‘१० भाइ’, ओलीलाई रिझाएर आफूलाई सुरक्षित गर्ने रणनीति

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देखि एमालेसम्मको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएका १० नेताले पार्टी विभाजनलाई साथ नदिने भन्दै अन्तिम समयमा एमालेमै बसे ।

विभाजनमा नजाने, जे जति गर्न सकिन्छ एमालेमै बसेर संघर्ष गर्ने बताएका कारण यो समूह एकढिक्का भएर जाला भन्ने धेरैको आँकलन थियो । तर, ‘१० भाइ’ को समूह पछिल्लो समय तितरबितर छ । विधान महाधिवेशनदेखि वडा, पालिका र प्रतिनिधि छनोट कतै पनि अस्तित्व देखाउन नसकेको यो समूह महाधिवेशनसम्मुखमै आइपुग्दा पनि आवाजशून्य प्राय: छ ।

यो समूह यति धेरै छिन्नभिन्न भइसकेको छ कि अछाममा गएर अध्यक्षमा लड्ने घोषणा गरेका उपाध्यक्ष भीम रावलले त्यसलाई अभियानको रूप दिन सकिरहेका छैनन् ।

‘कुराकानी टुंगिएको छैन,’ रावलले नेपाल प्रेससँग भने, ‘१० औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हो । यसको प्रक्रिया के हो भनेर बैठकमा पनि कुरा रोखेका थिएँ । अध्यक्षसँग पनि कुरा गरेको थिएँ । अरु साथीहरुसँग पनि छलफल गरेको थिएँ । तर, अहिलेसम्म यसमा केही कुरा नभएको हुनाले अलिकति कुरा स्पष्ट हुन्छ कि भनेर अहिले प्रयास गरिरहेको छु । स्पष्ट भयो भने हुन्छ, भएन भने आफैं स्पष्ट गर्नुपर्ने हुन्छ ।’

रावलले भनेको ‘अरु साथीहरू’ माधव नेपालको साथ छाडेर एमालेमा फर्किएका १० जनाबाटै हुन् । तर, सबै नेताहरू समूहगतरूपमा जानेभन्दा पनि व्यक्तिगतरूपमा अध्यक्ष ओलीको प्रिय बन्ने र उनलाई रिजाएर आफ्नो अहिलेकै हैसियत सुरक्षित राख्ने दाउमा छन् । आफू अघि बढेमा उनीहरूले पर्याप्त साथ दिन्छन्/दिँदैनन् आश्वस्त हुन नसकेपछि रावल खुलेर अघि आउन सकिरहेका छैनन् ।

समूहगतरुपमा जाँदा पार्टीभित्र आफ्नो शक्ति नभएकाले अहिले पाइरहेको जिम्मेवारी पनि खोसिएला भन्ने भय उनीहरूमा देखिन्छ । त्यहीकारण कोही पनि खुल्दैनन् । ओलीसँग एक्लाएक्लै ‘डिल’गरेर आगामी नेतृत्वमा आफूलाई सुरक्षित पार्नु उनीहरूको रणनीति रहेको नेता-कार्यकर्तामाझ नै चर्चा हुन थालेको छ ।

आसन्न महाधिवेशनमा यी १० जनाको आकांक्षा, संभावना, रणनीतिबारे यहाँ चर्चा गरिएको छ ।

युवराज ज्ञवाली

ज्ञवालीको चाहना उपाध्यक्षमा दोहोरिने छ । तर, ओली उनलाई ‘कन्भिन्स’गरेर उपाध्यक्षमा अन्य नेताहरुलाई व्यवस्थापन गर्ने दाउमा छन् । पहिले ओलीका कटु आलोचक ज्ञवाली १० बुँदे गरेयता मौनप्रायः छन् । १० भाइमध्येका अन्यले प्रदेश इन्चार्जको जिम्मेवारी नपाउँदा कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा पुन:स्थापित भएका ज्ञवाली पनि ओलीसँग धेरै ‘टसल’ नगर्ने मुडमा छन् । उपाध्यक्षमा ‘लविङ’ गर्ने र अन्तिममा अनुशासन अयोग प्रमुखकै जिम्मेवारी भए पनि स्वीकार गर्ने उनेको रणनीति छ ।

अष्टलक्ष्मी शाक्य

एमालेमै रहने निर्णय गरेपछि शाक्यले वागमती प्रदेशको मुख्यमन्त्री पाइन् । नेकपा-एमाले संघर्ष कालमा ओलीको कटु आलोचक रहेकी उनी पछिल्लो समय मौन छिन् । १० बुँदेपछि पनि वागमती प्रदेश इन्चार्जको भूमिका नपाउँदा पनि उनी मौन नै बसिन् । छोटो समयको मुख्यमन्त्री बन्न पाउँदा नै खुसी रहेकी उनी पछिल्लो समय ओलीलाई रिझाएर जिम्मेवारी लिन रणनीतिमा पुगेको देखिन्छ । शाक्यको चाहना उपाध्यक्षमा दोहोरिने छ । यसमा ओली पनि बाधक नहुन सक्छन् । पदाधिकारी समावेशी बनाउन कम्तीमा पनि एकजना महिला राख्नुपर्ने हुन्छ । एमालेमा शाक्यजत्तिको प्रोफाइल बोकेकी महिला नेता अभावले पनि ओलीले उनलाई उपाध्यक्षमा निरन्तता दिने देखिन्छ ।

भीम रावल

रावलको चाहाना बरिष्ठ उपाध्यक्ष बन्ने हो । तर, ओलीले ईश्वर पोखरेललाई व्यवस्थापन गर्ने गरी बरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको चर्चा एमालेवृत्तमा छ । बरिष्ठमा ओलीले पोखरेल छोडेर रावल रोज्ने सम्भावना छैन । अध्यक्ष लड्ने घोषणा गरिरहेका रावलले आफू अहिले पनि संवादमै रहेको बताएका छन् । राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको प्रक्रियाबारे अध्यक्षसँग कुराकानी गरेको र ओलीबाट जवाफ नआएको भन्ने रावलको भनाइले उनी आफ्नो सम्मानजनक पदका लाडि ‘बार्गेनिङ’मा छन् भन्ने बुझिन्छ ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर जितेका रावलका लागि सम्मानजनक भनेको बरिष्ठ उपाध्यक्ष नै हो । ईश्वर पोखरेलभन्दा बरियतामा कम भएर मान्ने सम्भावना छैन । तर, एमालेमा केपी ओलीपछि ईश्वर पोखरेल नै सिनियर नेता हुन् । अपमानभन्दा सम्मानजनक हार नै ठीक हुने भनेर १० भाइमध्येका नेताहरूको साथ नपाउँदा पनि रावल ओलीसँग प्रतिस्पर्धामा उत्रन सक्छन् ।

घनश्याम भुसाल

दसैँको एक चियापान कार्यक्रममा आफू नेतृत्वका लागि अघि बढ्ने संकेत गरेका भुसालले उपमहासचिवमै चित्त बुझाउने अवस्था छैन । यद्यपि उनले खुलेर अहिलेसम्म केही पनि भनेका छैनन् । ओलीले उनलाई महासचिवमा बनाउने सम्भावना छैन । हालको उपमहासचिवमा चित्त बुझाउन तयार भएको अवस्थामा बाहेक उनी भिड्नै पर्ने हुन्छ । उनलाई पार्टीमा रावलजत्तिकै अप्ठ्यारो छ। भुसालसँग पनि सम्मानजनक हार नै सही भनेर रावलसँग प्यानल बनाएर महासचिवमा लड्ने विकल्प बाँकी रहन्छ ।

सुरेन्द्र पाण्डे

उनले महासचिव बन्ने चाहना प्रकट गरेका छन् । पार्टी विभाजनमा साथ नदिएका र पछिल्लो समय ओलीप्रति गरमभन्दा नरम भएर सहयोग गरिरहेका कारण उनले महाधिवेशन व्यवस्थापन समितिमा पनि जिम्मेवारी पाएका छन् । संगठन निर्माणमा अब्बल र कुशल व्यवस्थापकसमेत रहेका पाण्डेसँग ओली नकारात्मक भने छैनन् । तर, आफ्ना विश्वास पात्रलाई छाडेर पाण्डेलाई ओलीले महासचिव बनाउने सम्भावना भने छैन । ओलीले उनलाई उपाध्यक्षमा व्यवस्थापन गर्न सक्छन् ।

भीम आचार्य

आचार्य सचिवमा दोहोरिन चाहन्छन् । छोटो समयका लागि भए पनि प्रदेश १ को मुख्यमन्त्री बन्न पाएकाले हुन सक्छ उनले १० बुँदे सहमतिअनुसार प्रदेश १ को इन्चार्जको भूमिका नपाउँदा पनि असन्तुष्टि व्यक्त गरेनन् । अन्य नेताहरू व्यवस्थापन गर्न गाह्रो भए ओलीले उनलाई सचिवमा नदोहोर्‍याउन सक्छन् । त्यस्तो बेलामा पनि चित्त बुझाएर बस्नेबाहेकको विकल्प आचार्यसँग देखिँदैन ।

गोकर्ण विष्ट

आन्तरिक संघर्षका बेला पनि विष्ट ओलीप्रति खासै आक्रमक बनेनन् । पछिल्लो समय पार्टी विभाजनका विपक्षमा उनी उभिए । त्यस कारण पनि उनी ओलीको निशानामा छैनन् । उनलाई ओलीले सचिवमा दोहोर्‍याउने देखिन्छ ।

योगेश भट्टराई

आफ्नो चाहना सचिवमा दोहोरिने भएको भट्टराईले खुल्लारूपमै बताइरहेका छन् । नेकपा र एमालेमा ओलीविरुद्धको सुरूआती संघर्षमा उनी आक्रामक थिए । आफूले चुनाव क्षेत्रमै गएर प्रचार गरिदिएको र मन्त्री बनाउँदा पनि आफूलाई साथ नदिएको भन्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो’ को संज्ञा दिएका थिए । उत्ति बेलाका आक्रामक भट्टराई माधव नेपालको संर्घषको निर्णायक बेलामा भने पछि हटे । उनी पार्टी विभाजनविरुद्ध उभिए । ओलीले उनलाई सचिवमा दोहोर्‍याउन सक्छन् ।

अमृत बोहरा

हाल अनुशासन आयोगका प्रमुख रहेका बोहोरा उमेर हदका कारण १० औं महाधिवेशनपछि एमालेबाट बाहिरिँदै छन् । ७० वर्षको उमेरहद पार गरेका कारण उनी एमालेको कुनै पनि कार्यकारी कमिटीमा बस्न पाउँदैनन् ।

रघुजी पन्त

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका पन्त पनि ओलीका कटु आलोचक थिए । एमालेमै रहने निर्णय गरेका उनले हालै अध्यक्ष ओलीलाई भेटेर उपाध्यक्ष आफ्नो चाहना भएको बताएका थिए । नेपाल प्रेससँगको कुराकानीमा पन्तले त्यसलाई स्वीकारे । उनले यसबारे थप खुल्न भने चाहेनन् ।

भेटमा ओलीले आफू त्यसका लागि सकारात्मक भएको जवाफ दिएका भए पनि उनलाई उपाध्यक्ष बनाउने सम्भावना छैन । संगठन भित्र खासै मजबुत अवस्था नभएका कारण पनि पन्तलाई जिम्मेवारी दिनुपर्ने बाध्यता ओलीलाई छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर