महामारीले असन्तुलित अर्थतन्त्र सुधारका लागि विकल्प खोज्दै मन्त्रालय – Nepal Press

महामारीले असन्तुलित अर्थतन्त्र सुधारका लागि विकल्प खोज्दै मन्त्रालय

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै गत साउनदेखि आयात उच्च वृद्धि भएको थियो । जसको प्रभाव शोधान्तरस्थितिमा परेको छ । भदौमा शोधान्तरस्थिति ८३ अर्बले घटामा गएपछि विदेशी मुद्राको सञ्चितिमा दबाब परेको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आयात करिब ६४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष उक्त अविधमा २ खर्ब ९२ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ब्यापारघाटा ४ खर्ब १३ अर्ब पुगेको छ । गत आर्थिक वर्ष व्यापारघाटा २ खर्ब ६१ अर्ब रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटा करिब ५८ प्रतिशतले बढेको छ ।

कात्तिकमा भने आयात केही कम हुने नेपाल राष्ट्र बैंकको अनुमान छ । यसले गर्दा शोधान्तरघाटा १ खर्ब नपुग्ने राष्ट्र बैंकको उच्च स्रोतले बतायो ।

यसैगरी अर्थमन्त्रालयले वस्तुको कुल आयातमध्ये ४० प्रतिशतभन्दा बढी आयात उत्पादनशील क्षेत्रमा नै गएको अनुमान गरेको छ । केही वस्तुको आयातमा कटौती गर्न सकिन्छ कि भनेर अर्थमन्त्रालयले ध्यानपूर्वक आर्थिक तथ्यांक विश्लेषण गरेको बताएको छ ।

सरकारले यसअघि चाँदी आयातमा केही कडाइ गरेको थियो । सुन, सवारीसाधान तथा अनुत्पादनशील क्षेत्रमा जाने कर्जालाई अर्थमन्त्रालयले ध्यानपूर्वक अध्ययन गरिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ आपूर्ति तथा ऊर्जामा भएको मूल्यको प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ । पेट्रोलिय पदार्थको मूल्य बढिरहेको छ भने कोइलामा भएको मूल्यवृद्धिले सिमेन्ट तथा छडलगायतका वस्तुको मूल्य बढाएको छ ।

पेट्रोलिय पदार्थको आयात कटौतीका लागि सरकारले विद्युतको उपयोगमा जोड दिनपर्ने र विद्युत आपूर्ति बढाउन गर्न सकिने संभावित विकल्पका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । महामारीपश्चात माग भइरहेको लगानीले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसको फाइदा लिन सम्भावित सबै विकल्पको खोजी भइरहेको एक अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर