इतिहासकै ठूलो घाटा व्यहोर्दै आयल निगम, पेट्रोलियम आपूर्ति प्रभावित बन्नसक्ने – Nepal Press

इतिहासकै ठूलो घाटा व्यहोर्दै आयल निगम, पेट्रोलियम आपूर्ति प्रभावित बन्नसक्ने

मासिक घाटा झण्डै साढे चार अर्ब

काठमाडौं । पेट्रोलियम पदार्थको एकाधिकारप्राप्त नेपाल आयल निगम इतिहासकै ठूलो घाटाको दलदलमा फसेको छ । तत्काल मूल्य समायोजन हुन नसके निकट भविष्यमै पेट्रोलियमको आपूर्ति प्रभावित बन्नसक्ने निगमका अधिकारीहरूले बताएका छन् ।

कयौंपटक पेट्रोलियमको मूल्यवृद्धि गर्दा पनि निगमको घाटा चुलिँदै गएर उच्च विन्दूमा पुगेको छ । अहिलेको मूल्यअनुसार निगमलाई मासिक ४ अर्ब ४४ करोड घाटा छ, जुन अहिलेसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार मूल्य घटबढ गर्ने गरी स्वचालित प्रणालीमा गएको भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पछिल्लोपटक गत असोज ७ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । त्यसयता चाडबाडले गर्दा मूल्य समायोजन गर्न नसकेको निगम बताउँछ ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्न नसक्दा नै निगमले ठूल्लो घाटा व्यहोर्नु परेको बताइएको छ । निगमका अनुसार अक्टोबर महिनाको सुरुमा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यअनुसार निगमको घाटा १५ दिनमा २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यही मूल्य कायम रहेमा मासिक नोक्सानी ४ अर्ब ४४ करोड हुनेछ । पछिल्ला महिनामा विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले अब पनि बढेर नै आउने निगमको अनुमान छ ।

हाल पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल प्रतिलिटर ११३ रुपैयाँ, ग्यास प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ मूल्य छ । छिमेकी देश भारतमाभन्दा नेपालमा पेट्रोल ४० रुपैयाँ र डिजेल ४२ रुपैयाँ प्रतिलिटर सस्तो पर्छ । भारतले अन्तर्राष्ट्रिय मूल्यनुसार समायोजन गर्ने र प्रदेश सरकारले समेत कर लिने गरेकाले नेपालमा भन्दा महंगो भएको हो ।

नेपालमा मूल्य समायोजन नगर्न राजनीतिक दबाब पर्ने गरेको छ । आईओसीले पठाएको पछिल्लो नयाँ मूल्य चाडपर्वको बेला भनेर समायोजन भएन । अरु बेला पनि सरकारको लोकप्रियतामा असर पर्ने भनेर मूल्य समायोजनामा हस्तक्षेप गर्ने प्रचलन छ । विद्यार्थी संगठनहरूले गर्ने सडक आन्दोलनले पनि मूल्यवृद्धि प्रभावित हुन्छ ।

नेपालमा मूल्य समायोजन नगर्न राजनीतिक दबाब पर्ने गरेको छ । आईओसीले पठाएको पछिल्लो नयाँ मूल्य चाडपर्वको बेला भनेर समायोजन भएन । अरु बेला पनि सरकारको लोकप्रियतामा असर पर्ने भनेर मूल्य समायोजनामा हस्तक्षेप गर्ने प्रचलन छ । विद्यार्थी संगठनहरूले गर्ने सडक आन्दोलनले पनि मूल्यवृद्धि प्रभावित हुन्छ ।

निगम अहिले इतिहासकै ठूलो मासिक घाटामा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

उपाध्यायले भने, ‘निगमलाई अहिलेको मूल्यअनुसार मासिक ४ अर्ब ४४ करोड घाटा हुने अवस्था आएको छ । अब बेलैमा विचार गरिएन भने निगम २०७० सालभन्दा अगाडिकै अवस्थामा फर्किने छ ।’

२०७० सालभन्दा पहिले निगमसँग आर्थिक संकटमा परेर नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ऋण लिएको थियो । निगमले मासिक १५ देखि १७ अर्बको पेट्रोलियम पदार्थ आइओसीसँग किन्ने गरेको छ । १७ अर्बको कारोबारमा प्रतिमहिना ४ अर्ब ४४ करोड घाटा हुँदै जाने हो भने पेट्रोलियम पदार्थ किन्न पैसा नभएर आपूर्ति व्यवस्थामा समेत समस्या आउन सक्ने उपाध्यायको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएकाले नै नेपाल आयल निगमको घाटा चुलिएको हो । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएकाले पनि सीमामा भएका पम्पहरुमा भारतीयहरु डिजेल र पेट्रोल हाल्न नेपालमा आउने गरेका छन् । निगमले घाटा खाएर बिक्री गरिरहेको पेट्रोलियम पदार्थबाट सीमाका केही गाडीहरुले समेत फाइदा लिरहेको उपाध्यायले बताए ।

पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा छ । मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ ।

निगम केही वर्षअघि ३६ अर्ब ऋणमा थियो । विस्तारै त्यो ऋण तिर्दै निगम नाफामा गएको थियो । तर, अहिलेको अवस्थाले पहिलेकै अवस्थामा पुग्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर