सूचना लुकाएपछि धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध ‘भैँसी जुलुस’ – Nepal Press

सूचना लुकाएपछि धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध ‘भैँसी जुलुस’

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको छ ।

भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले आज बिहान भैंसी जुलुस निकालेका हुन् । जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो ।

भैंसी जुलस निकालेका नगरबासीले मेयर विजयशंकर साह, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर र लेखा अधिकृत शिवकुमार झाविरुद्ध नाराबाजी समेत गरे ।

भ्रष्टाचार लुकाउन सूचना नदिएको भन्दै संघर्ष समितिका संयोजक सुरेश यादवको नेतृत्वमा विगत १४ दिनदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन जारी छ । चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, गत वर्ष संसद विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड-१९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालन खर्चलगायतका शीर्षकमा भएको खर्चको सूचना मागेको महिनौं वितिसक्दा पनि नदिएपछि अनसन बस्नुपरेको समितिका संयोजक यादवले नेपाल प्रेसलाई बताए ।

‘सबै प्रक्रिया पूरा गरी सूचनाका लागि निवेदन नगरपालिकामा दर्ता गराएका छौं’, उनले भने, ‘तर मेयर साह र कर्मचारीहरूले सूचना उपलब्ध गराउन मानेका छैनन् ।’ सूचना उपलब्ध नगराएसम्म अनसन जारी राख्ने अभियन्ताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर