मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा दायर – Nepal Press

मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । फर्जी नामावली र बील भरपाई खडा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा उदयपुरका तत्कालीन पाँच गाविससचिवहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उदयपुरको साविक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेकाहरूको लगत कट्टा नगरी पाँच वर्षसम्म नक्कली बीलभरपाइ बनाएर १६ लाख  ४० हजार ५ सय हिनामिना गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार तत्कालीन सचिव रही हाल मालपोत कार्यालय उदयपुरका नासु केशवप्रसाद आचार्य, हाल रौतामाई गाउँपालिका- ७ का वडासचिव लोकेन्द्र कार्की, हाल तथ्यांक कार्यालय, उदयपुरमा कार्यरत खरिदार विशाल सुन्दास, हाल रौतामाई गाउँपालिकाका अधिकृत माधवप्रसाद खतिवडा र हाल अवकासप्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलविरुद्ध छुट्छुट्टै बिगो दावीसहित मुद्दा दायर गरिएको हो ।

उनीहरूले गाविसमा ८/१० वर्ष अगाडिदेखि मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्तावापत रकम निकासा गरी दुरुपयोग गरेको उजुरीको आधारमा छानविन गर्दा दोषी देखिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

‘उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. ०६३/०६४ देखि आ.व. ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरूको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६,४०,५०० हिनामिना गरेको देखिन आएको’ अख्तियारले विज्ञप्ति निकालेर जनाएको छ ।

हेर्नुस्- अख्तियारले मुद्दा दायर गरेकाहरूको नाम, हालको कार्यालय, बिगो रकम र सजाय मागदावीको सूची :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *