चाडपर्वका बेला म्याद गुज्रेका कुनै पनि सामाग्री भेटिए कानुन अनुरुप अगाडि बढ्ने गृहमन्त्री खाणकाे चेतावनी – Nepal Press

चाडपर्वका बेला म्याद गुज्रेका कुनै पनि सामाग्री भेटिए कानुन अनुरुप अगाडि बढ्ने गृहमन्त्री खाणकाे चेतावनी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्य सामाग्री र औषधि विक्रि वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं । म्याद गुज्रेका औषधि र खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा हामी कानुन अनुरुप अगाडि बढ्नुपर्छ । त्यस विषयमा यहाँहरूले ध्यान दिनुहोला ।’

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन एजेण्डा राखेर बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका र सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहेको बैठकमा मन्त्री खाणले म्याद गुज्रेका सामाग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गर्दै भने, ‘अन्य बेलामा जस्तै धेरै नाफा नलिई कम नाफा लिएर सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ । बढी मूल्यमा बेचेको अनुगमनका क्रममा पाइएमा सरकारी निकाय कानुन अनुरुप अगाडि बढ्न पर्छ ।’

व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाएर बिदा गर्न सकिने उनको भनाइ थियो । मन्त्री खाणले उद्योगी, व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन र यातायात व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताए । उनले सवारी दुर्घटना न्यूनिकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरेका छन् । उनले बर्षातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दशैं अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने बताए । जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो ।

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए । उनले बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलवाड गर्न नपाइने भन्दै खेलवाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘बजार प्रणालीबाट जनस्वास्थ्यमाथी खेलबाड हुन नदिन गृहमन्त्रालय प्रतिबद्ध छ । खेलवाड भए नभएकोबारे बजार अनुगमन हुन्छ ।’ उनले अनुगमनमा मूल्यसूचीजस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सकिएका खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा शक्त कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । उनले भने, ‘हामीले वाणिज्य र गुणस्तर विभागलाई स्पष्ट रूपमा भनेका छौं, चाडपर्वको मौका छोपी नबिकेर म्याद गुज्रिएका सामाग्री निरक्षर उपभोक्ता भएका स्थानसम्म पुर्याएर विक्री हुनसक्छ । त्यस्तो पाइएमा सक्त कारबाही गर्नू,।’ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापाले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विषेश सुरक्षा योजना बनाएको बताए ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्तासमेत रहेका निर्देशक डा‍‌ लोकनाथ भुसालले दशैंमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए । प्रवक्ता भुसालले आगामी ११ गतेबाट दशैंलाई अग्रिम टिकट विक्रि खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको जानकारी गराए । त्यस्तै बसको टिकट अनलाइनमा काट्ने बनाउन प्रयास भइरहेको उनको भनाई थियो । बैठकमा उपभोक्ताकर्मी, यातायात  व्यवसायी, उद्योगीले आ–आफ्ना धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर