माओवादीबाट मन्त्री बन्नेहरूको नाम प्रचण्डले गठबन्धन बैठकमा बुझाउने – Nepal Press

माओवादीबाट मन्त्री बन्नेहरूको नाम प्रचण्डले गठबन्धन बैठकमा बुझाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट सरकारमा पठाउने व्यक्तिका लागिको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सरकार विस्तारबारे ब्रिफिङ गरेका थिए । अध्यादेशका कारण सरकार विस्तारमा ढिलाइ भएको र अब त्यो सकिएकाले भोलिसम्म मन्त्रीपरिषद् विस्तार हुने जानकारी उनले गराएका छन् ।

बैठकमा माओवादीबाट पठाइने व्यक्तिबारे सामान्य छलफल भए पनि टुंगो भने लागेको थिएन । एक स्थायी समिति सदस्यले मन्त्री छान्ने अन्तिम जिम्मेवारी प्रचण्डलाई दिएको बताए ।

मन्त्रिपरिषद विस्तारका लागि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । हिजो बसेको गठबन्धनको बैठकमा सबैले आ-आफ्नो पार्टीमा टुंग्याएर आज प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम बुझाउने सहमति भएको थियो ।

स्थायी समिति बैठकमा प्राप्त सुझावलाई मनन् गर्दै प्रचण्डले पार्टीबाट पठाइने व्यक्तिहरूको सूची बैठकमै दिने ती नेताले बताए । माओवादीमा मन्त्री हुनेहरूको लामै सूची छ । मन्त्री छान्न आफूलाई सकस परेको प्रचण्डले बताउँदै आएका छन् ।

आजको बैठकले डोरप्रसाद पौडेललाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यस्तै प्रवास विभागले तयार पारेको निर्देशिकाबारे पनि छलफल भएको छ । सो विभागको इन्चार्ज नारायणकाजी श्रेष्ठ छन् ।

विभागले विश्वभर रहेका नेपालीहरूमाझ संगठन बनाउन ६ वटा उपक्षेत्र बनाएको छ । त्यसमा भारतलाई एउटा उपक्षेत्र मानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर