बाइडेन, पुटिनदेखि कोविन्दसम्मले दिए संविधान दिवसको शुभकामना, २३ राष्ट्राध्यक्ष र सरकारप्रमुखले पठाए सन्देश – Nepal Press

बाइडेन, पुटिनदेखि कोविन्दसम्मले दिए संविधान दिवसको शुभकामना, २३ राष्ट्राध्यक्ष र सरकारप्रमुखले पठाए सन्देश

काठमाडौं । संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मित्रराष्ट्रले नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, जापानी सम्राट, भारतीय राष्ट्रपति, बङ्गलादेश, श्रीलङ्का, जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपतिलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको उल्लेख गरेका छन् ।

सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा कोविन्दले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गरेका छन्। भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनले राष्ट्रपति नेपाली जनता र राष्ट्रपति भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गरेका छन् । सन्देशमा उनले बितेको वर्ष कोभिड-१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेको बताएका छन् । कूटनीतिक सम्बधमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका-नेपाल मैत्रीको उनले सरहाना गरेका छन् ।

दुई देशका जनताबीचको सम्बन्धले पारस्परिक मैत्रीलाई अझ निकट ल्याएको तथा शैक्षिक, व्यापारिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध निरन्तर विकसित भइरहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपतिले सन्देशमा नेपालको लोकतन्त्र र सार्वभौमसत्ताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् ।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् ।

अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् । उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर