चीनद्वारा तालिबान सरकारलाई २ सय मिलियन युआन सहयोगको घोषणा
खोप खरिद र खाद्यान्न आपूर्तिमा सघाउने


काबुल । चीनसहितका पाँच मुलुकले अमेरिकी सेनाको फिर्तीपछि अफगानिस्तानमा सिर्जिएको संकटविरुद्ध मिलेर कार्य गर्ने सहमति गरेका छन् ।
भर्चुअल सम्मेलनमा यी मुलुकका परराष्ट्रमन्त्रीले अफगानिस्तानलाई संकटविरुद्ध सघाउने प्रतिबद्धता पनि जनाएका छन् ।
चीनले अफगानिस्तानलाई खाद्यान्न, औषधि र कोभिड–१९ विरुद्धको खोपजस्ता मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
चीनले तालिबान नेतृत्वको अफगानिस्तान सरकारलाई २ सय मिलियन युआन (३ अर्ब ६३ करोड नेरु) बराबरको सहयोग दिने घोषणा गरेको छ । उक्त रकम खाद्यान्न आपूर्ति र कोरोनाविरुद्धको खोप किन्न दिइने चीनले जनाएको छ ।
शान्ति सुव्यवस्था कायम गर्नको लागि चीनले तालिबान सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउने घोषणा पनि गरेको छ । चीनले तालिबानको नयाँ सरकारसँग मिलेर कार्य गर्ने पनि जनाएको छ ।
विदेश मन्त्रीहरुको छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले अन्तरिम सरकार गठन भएपनि अफगानिस्तानको वर्तमान भविष्य अन्यौल भएको जनाएका थिए ।
वाङ यीले बुधबार बेलुका पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकिस्तान र तुर्किमिनिस्तानका विदेशमन्त्रीसँग छलफल गरेका थिए ।