घर झगडाको असरः एमालेका तीन सरकार ढले, दुई अवसर गुमे – Nepal Press

घर झगडाको असरः एमालेका तीन सरकार ढले, दुई अवसर गुमे

काठमाडौं । पार्टी विवादको असरले एकपछि अर्को धक्का खेपिरहेको एमालेले आज लुम्बिनी सरकार गुमाएको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखिएपछि मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेका छन् । यससँगै प्रदेशमा एमाले नेतृत्वको दोस्रो सरकार ढलेको छ ।

तीन वर्षअघि आरामदायी बहुमतसहितको संघीय सरकारको नेतृत्व गर्दैगर्दा तत्कालीन एमालेले प्रदेशमा पनि चार सरकारको नेतृत्व पाएको थियो । अन्य दुई प्रदेश सरकार भने वाम गठबन्धनको अर्को सहयात्री दल माओवादी केन्द्रले पाएको थियो ।

चुनावपछि एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट (नेकपा) पार्टी बन्यो । तर, नेकपाभित्रको आन्तरिक किचलोले तीन वर्षपछिको अवस्था भने निकै फरक छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ । नेकपाभित्रको विवाद पुन:स्थापित एमालेमा पनि स्थानान्तरण भएको छ ।

मुलतः यही आन्तरिक घरझगडका कारण एमाले अध्यक्ष केपी शर्मा ओली संघीय सरकारको नेतृत्वबाट हट्नु परेको छ । २८ असारमा सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली बाहिरिनु परेको हो ।

सदनमा विश्वासको मत गुमाएर सरकार ढलेपछि पृथ्वीसुब्बा गुरुङले केन्द्रमा पार्टीभित्रको विवादका कारण आफू बाहिरिनु परेको कुरालाई सांकेतिकरूपमा व्यक्त गरेका थिए । काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढिएको उनको टिप्पणी थियो ।

एमालेभित्रकै असन्तुष्ट पक्षले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट हालेपछि त्यसको फैसला गर्दै अदालतले ओलीलाई सरकारबाट विस्थापन गरेको थियो । जबकि नेकपालाई पूरा पाँच वर्ष सरकार चलाउने ‘म्याण्डेड’ थियो ।

ओलीको बहिर्गमनपछि पनि एमालेको सत्ता गुम्ने सिलसिला भने रोकिएको छैन । संघमा सत्ता गुमेसँगै एमालेले दुई प्रदेश सरकार गुमाएको छ भने दुई ठाउँमा सरकार गठनको अवसर गुमाएको छ ।

आफ्नै दलका दुई सांसदको राजीनामा र एकले दल परिवर्तन गरेका कारण पोखरेल अप्ठ्यारोमा थिए । आफूविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने अवस्था देखेपछि पोखरेलले त्यसको सामना नगरी राजीनामाको बाटो रोजेका हुन् ।

पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनसहित उनी मुख्यमन्त्री बन्दा निकै सहज थियो । तर, पार्टीभित्रको विवादले उनको सरकारलाई पनि असर गर्‍यो ।

नेकपामा आएको विभाजन र एमालेमै रहेको विवादका कारण पोखरेलले १९ वैशाख २०७८ मा पनि राजीनामा दिएका थिए । त्यतिबेला पनि उनले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नगरी राजीनामाको बाटो रोजेका थिए । तर, उनी बिहानै राजीनामा दिएर सोही दिन अबेर संविधानको धारा १६८ को उपधारा १ बमोजिम पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

आफ्नो कार्यकालमा निकै चुनौतीपूर्ण रहेको प्रदेशको राजधानी निर्धारण गर्ने विषयलाई कुशलतापूर्वक टुंग्याएका र बजेट खर्चमा तुलनात्मकरूपमा सफलता पाएका कारण उनको प्रशंसा पनि भएको थियो । संघीयता कार्यान्वयनका दृष्टिले अन्य प्रदेशका मुख्यमन्त्रीभन्दा तुलनात्मकरूपमा सफल मानिएका थिए पोखरेल ।

लुम्बिनीमात्रै होइन, गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिनुपरेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि त्यहाँको सरकार ढल्यो । २७ जेठमा प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । ३० दिनभित्र विश्वासको मत लिने प्रावधान अनुसार ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत नपाएपछि गुरुङ बाहिरिनुपरेको थियो ।

गुरुङले केन्द्रमा पार्टीभित्रको विवादका कारण आफू बाहिरिनु परेको कुरालाई सांकेतिकरूपमा व्यक्त गरेका थिए । काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढिएको उनको टिप्पणी थियो ।

दुई प्रदेश सरकार बदल्ने प्रयासमा पनि एमाले यसबीचमा असफल भयो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रयासमा एमालेकै चार सांसद बाधक बनेका थिए । ३ बैशाख २०७८ मा विश्वासका मत लिँदा एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरी मतदान गरेपछि शाहीको सरकार जोगिएको थियो ।

एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको सरकार बदल्ने प्रयासमा एमालेका माधव नेपाल पक्षका प्रदेश सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा बाधक बनेका थिए ।

उता सुदूरपश्चिममा पनि सरकार बदल्ने एमालेको प्रयास सफल हुन सकेन । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि एमाले भित्रको घरझगडाकै कारण सानो दलको नेता हुँदाहुँदै विश्वासको मत पाउने अवस्था बन्यो । २५ जेठ २०७८ मा भएको मतदानमा भट्टले ३० मत पाएका थिए ।

एमाले केन्द्रले भट्टका विपक्षमा मतदान गर्न निर्देशन दिए पनि नेपाल पक्षका १७ जना सांसदले त्यसको उल्लघंन गर्दै पक्षमा मतदान गरेपछि भट्टको सरकार जोगिएको थियो । एक्लै बहुमतमा हुँदाहुँदै पनि पार्टीभित्रको कलहका कारण एमालेले त्यहाँ पनि प्रदेश सरकारको नेतृत्व गर्ने मौका गुमायो ।


प्रतिक्रिया

One thought on “घर झगडाको असरः एमालेका तीन सरकार ढले, दुई अवसर गुमे

  1. हामि गवारहरुले वुझेजति पनि नवुझ्ने स्वाठहरुको सत्ता उन्मादको परिणाम अव नेपालवाट कम्युिनष्टको पतन यिनिहरुकै कारण सुरु भएको वुज्न कुनै कठीनाइ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर