कर्णालीका नेतासँग ओलीले भने- जेठ २ मा फर्किसकेँ, घरमै गएर ल्याउन सक्दिन – Nepal Press

कर्णालीका नेतासँग ओलीले भने- जेठ २ मा फर्किसकेँ, घरमै गएर ल्याउन सक्दिन

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमाले एकताको लागि प्रतिबद्ध रहेको बताएका छन् ।

कर्णाली प्रदेशका पार्टी जिल्ला अध्यक्षहरूसँगको भेटमा उनले आफू सर्वोच्च अदालतको आदेश अनुसार जेठ २ मा फर्के पनि माधव नेपाल बैठकमा सहभागी नभएकोप्रति अनौठो मानेका छन् ।

‘कार्यदलले १० बुँदे सहमतिको अवधारणा निर्माण गरेको छ । त्यसलाई हामीले अनुमोदन गरिसकेका छौं । पार्टी जेठ २ मा फर्किसकेको छ । उहाँहरूको चित्त नबुझेको भए पार्टी कमिटीको बैठकमा आएर आफ्ना कुरा राख्न सक्नुहुन्थ्यो तर उहाँहरू हालसम्म बैठकमा आउनु भएको छैन ’, ओलीको भनाइ उदृत गर्दै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले नेपाल प्रेससँग भने, ‘पार्टीमा अनुशासनहिनता, अराजकता, व्यक्तिगत स्वार्थले अब ठाउँ पाउँदैन । तपाईंहरू गाउँ फर्किनुस् । पार्टीलाई अझै बलियो बनाउन केन्द्रित हुनुहोस् ।’

एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले आफूहरूले पार्टी अध्यक्षसँग पार्टी एकता छिटो टुंग्याउन अनुरोध गरेको बताए ।
‘हामीले पार्टी एकतालाई छिटो टुग्यांउन, आग्रह र कुण्ठा त्यागेर सबैले पार्टीलाई जोगाउनुपर्ने माग राखेका हौं । १० बुँदे सहमतिलाई अवधारणालाई दुवै पक्षले इमान्दार भएर कार्यान्वयन गर्नुपर्ने कुरा राखेका छौं ’, उनी भन्छन्, ‘पार्टीका आम कार्यकर्ताहरूको चाहना पार्टी एकता नै भएका कारण हामीले तत्काल पार्टी एकता गर्न आवश्यक कदम चाल्न पार्टी अध्यक्षलाई आग्रह गरेका छौं ।’

जवाफमा ओलीले एमालेमा आउनेलाई आउन दिने कसैको घरमै गएर एमाले हौ भनेर नल्याइने बताएका थिए । ‘जेठ २ का कुरा भए, त्यहाँ पार्टी आइसकेको छ । १० बुँदे आइसकेको छ । त्यसमा पनि म तयारै छु ’ शर्माले भने, ‘अब उहाँहरूलाई घरैबाट जबर्जस्ती तपाईं एमाले हो भनेर ल्याउन त सकिँदैन नि । उहाँहरू आउनुहुन्छ भन्ने आशा छ । आउन चाहने साथीहरूलाई पूर्ववत अवस्थामा जिम्मेवारी दिइन्छ । पार्टी एकताप्रति म प्रतिबद्ध छु भनेर जवाफ दिनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर