एमालेका चार नेता छलफलमा, आजै ओली र नेपालबीच वार्ता गराउने – Nepal Press

एमालेका चार नेता छलफलमा, आजै ओली र नेपालबीच वार्ता गराउने

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन खोजेका छन् ।

भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो । आज पनि चार नेता वार्ताको वातावरण बनाउन छलफलमा छन् ।

चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत भएका छन् ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सोमवारको बैठकमा बरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । उनीहरुको आग्रह मानेर नेपाल वार्तामा बस्न तयार भएका हुन् ।

एमालेको न एकता,न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुवै पक्ष सहमत रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउछन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट पनि दिन नहुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर