सामाजिक सुरक्षा कोष : ४९५ योगदानकर्ताका परिवारले बुझ्छन् मासिक ६० लाखसम्म पेन्सन – Nepal Press

सामाजिक सुरक्षा कोष : ४९५ योगदानकर्ताका परिवारले बुझ्छन् मासिक ६० लाखसम्म पेन्सन

काठमाडौं । खिम्ती हाइड्रोपावर कम्पनी प्राविधिक कर्मचारी सीताराम खड्कालाई गत असोजमा एक्कासि ब्लड क्यान्सर देखियो । खिम्तीमा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत ५२ वर्षीय खड्कालाई ब्लड क्यान्सर देखिएपछि उनका श्रीमती पम्फादेवीले नर्भिकलगायत विभिन्न अस्पतालमा उपचार गराइन् । तर पनि पम्फादेवीले श्रीमानलाई बचाउन सकिनन् । गत असोज १८ गते सीतारामको मृत्यु भएको थियो ।

खिम्ती हाइड्रोपावर कम्पनीले सामाजिक सुरक्षा कोष लागू भएदेखि नै आफ्ना कर्मचारीलाई आवद्ध गराएको थियो । सीतारामले मृत्यु हुनुअघि खिम्तीबाट मासिक रुपमा आधारभूत पारिश्रमिक ८५ हजार ५५६ रुपैयाँ खाइपाइ आएका थिए । उनको मृत्युपछि श्रीमती पम्फादेवीले श्रीमानको आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने ५१ हजार ५३२ रुपैयाँ पेन्सन पाएकी छन् ।

श्रीमानले तीन वर्षसम्म सामाजिक सुरक्षा कोषमा योगदान गरेको करिब नौ लाख रुपैयाँ पनि पम्फादेवीले फिर्ता पाइन् । कोषले २५ हजार काज किरिया खर्च पनि उपलब्ध गरायो ।

पम्फादेवीले गत कात्तिकदेखि जीवनभर मासिक रुपमा ५१ हजार ५३२ रुपैयाँ पेन्सन पाउनेछिन् । श्रीमानले छोडेर गए पनि अहिले उनको सहारा सामाजिक सुरक्षा कोष बनेको छ ।

फम्फादेवीका तीन छोराछोरी पनि छन् । तर, उनीहरु सबै १८ वर्ष पूरा भइसकेका छन् । १८ वर्षमुनिका छोराछोरीले भने दामासाहीको आधारमा ४० प्रतिशतका दरले पेन्सन पाउने थिए ।

०००

गत कात्तिक २७ गते बिहान ओखलढुंगाको रुम्झाटारबाट पर्यटक लिन सोलुखुम्बुको लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भयो । हेलिकोप्टरमा पाइलट प्रकाशकुमार सेढाईं एक्लै थिए । दुर्घटनामा घाइते पाइलट सेढाईंको उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

नेपालमा उपचार सम्भव नहुने देखिएपछि उनलाई विशेषज्ञ टोलीले मेडिकल स्कर्टिङ गरेर श्री एयरलाइन्सको चार्टर्ड उडानबाट मुम्बईस्थित नेशनल बर्न सेन्टर पुर्‍याइयो । तर, गत कात्तिक ६ गते उनको मृत्यु भयो ।

त्यस बखत सेढाईंले मनाङ एयरलाइन्सबाट मासिक आधारभूत पारिश्रमिक ७२ हजार ८९६ रुपैयाँ खाइपाइ आएका थिए । उनको मृत्युपछि सेढाईंका श्रीमती र छोराछोरीले सामाजिक सुरक्षा कोषबाट नियमित रुपमा जम्मा हुँदै आएको ६ लाख रुपैयाँ एकमुष्ठ फिर्ता पाए । २५ हजार काज किरिया खर्च पनि पाए ।

त्यस्तै सेढाईंले मनाङ एयरलाइन्सबाट मृत्यु हुँदा बखत खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम ४३ हजार २५४ रुपैयाँ श्रीमती सविना खड्काले मासिक पाउन थालेकी छन् । यो रकम उनले जीवनरभर पाउनेछिन् ।

उनका श्रीमान सेढाईंको सामाजिक सुरक्षा कोषमा जानुअघि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा पनि नियमित रुपमा रकम जम्मा भएको थियो । तर, कर्मचारी सञ्चय र नागरिक लगानी कोषबाट जम्मा भएको रकमबाहेक एक रुपैयाँ पनि थप नपाएको उनले बताइन् ।

‘तर, केही वर्षमात्रै पुगेको सामाजिक सुरक्षा कोषले जम्मा भएको सबै रकम फिर्ता गर्‍यो । मलाई मासिक रुपमा पेन्सन पनि दिइरहेको छ । यसले धेरै सहज बनायो’, उनले भनिन् ।

भारतीय नागरिक म्याथुको परिवारले पायो अहिलेसम्मकै सबैभन्दा बढी पेन्सन

कोषमा आवद्ध भएपछि मृत्यु भएका योगदानकर्तामध्ये भारतीय नागरिक सन्तोष म्याथुका परिवारले अहिलेसम्म सबैभन्दा बढी पेन्सन पाइरहेको छ । म्याथुको मृत्यु हुँदाका बखत उनले मासिक रुपमा आधारभूत पारिश्रमिक एक लाख २७ रुपैयाँ खाइपाइ आएका थिए । जसमा उनका श्रीमती विन्दुपी अब्रहमले आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम ६० हजार १६ रुपैयाँ मासिक रुपमा पाइरहेकी छन् ।

उनका छोरा अल्दिन म्याथु र छोरी अलिसातेरस म्याथुले बाबुको मृत्यु हुँदाका बखतको आधारभूत मासिक तलबको ४० प्रतिशतले हुन आउने ४० हजार १० रुपैयाँ दामासाहीको दरले पाइरहेका छन् । श्रीमती अब्रहमले मासिक पेन्सन बाचुञ्जेल पाउनेछिन् भने छोराछोरीले १८ वर्ष नपुगुञ्जेलसम्म पाउनेछन् । मृत्यु भएका योगदानकर्ता म्याथुकाको श्रीमतीले ६० र छोराछोरीले ४० प्रतिशत गरी आधारभूत तलबको शत प्रतिशत रकम उक्त परिवारले पाइरहेका छन् ।

कोषबाट मासिक ५० देखि ६० लाख भुक्तानी

सामाजिक सुरक्षा कोषका अनुसार अहिले मासिक रुपमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म निवृत्तभरण अर्थात पेन्सन पाउनेको संख्या सात जना रहेका छन् । जसमा एक जना भारतीय नागरिक छन् ।

कोषका अनुसार तीमध्ये पाँच जनाको श्रीमती र छोराछोरीले पेन्सन पाइरहेका छन् । दुई जनाको छोराछोरी नभएका कारण श्रीमतीले मात्रै पेन्सन पाइरहेका छन् । कोषको पछिल्लो तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ४२ करोड १८ लाख १३ हजार १६६ रुपैयाँ जम्मा भइसकेको छ । जसमध्ये ४९५ जनाका परिवारले १३ करोड ८७ लाख ३१ हजार ३८२ रुपैयाँ भुक्तानी लिइसकेका छन् ।

कोषका अनुसार अहिले ४९५ जना मृतक योगदानकर्ताका परिवारलाई मासिक रुपमा ५० देखि ६० लाख रुपैयाँ भुक्तानी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर