मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नुपर्छ: प्रदेश प्रमुख मियाँ – Nepal Press

मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नुपर्छ: प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख मियाँले संविधानमार्फत मुस्लिम समुदायको लागि थुप्रै अधिकार स्थापित भएको र अब कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताए ।

‘हाम्रो सबैभन्दा राम्रो संविधान बनेको छ । उक्त संविधानले मुस्लिम समुदायलाई थुप्रै अधिकार दिएको छ त्यस्तो अधिकार छिमेकी मुलुकमा पनि छैन’, उनले भने, ‘अब अधिकार स्थापित गर्नुपर्छ ।’

प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिकहरूको चेतनाको स्तर बढाउन आवश्यक रहेको टिप्पणी गरेका थिए । उनले शिक्षा, स्वास्थ्य र नागरिकतामा समस्या रहेको भन्दै ती समस्या समाधान गर्न पनि आफूले भूमिका खेल्ने बताए ।

मुस्लिम आयोग अध्यक्ष समीम मिया अन्सारीले पनि मुस्लिम समुदायले अधिकार पाएको तर, पाएको पूरै अधिकार सुनिश्चित गर्न अझै नसकिएको बताए ।

उनले सबै प्रकारका सरकारी नियुक्ति र सरकारी सुविधा पनि उपस्थितिको आधारमा उपलब्ध हुनु पर्नेमा जोड दिएका थिए । संघीय निजामती विधेयक पारित भएपछि अझै सहज हुने अध्यक्ष अन्सारीले विश्वास व्यक्त गरे ।

मुस्लिम समुदायले अझै पनि थुप्रै समस्या झेलिरहेको भन्दै उनले ती समस्या समाधान गर्न प्रदेश प्रमुखले पनि भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल मेडिकल एसोसियसन प्रदेश सचिव डा. मेराज आलम अन्सारीले सुदूरपश्चिम प्रदेशमा पनि मुस्लिम आयोगको सम्पर्क कार्यालय खोल्न आग्रह गरे । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पाउनबाट पनि वञ्चित भएको र नागरिकता जन्म दर्ता र मृत्यु दर्ताबाट पनि धेरै समस्या रहेको भन्दै यस विषयमा चासो दिनु पर्ने उनको जोड थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले व्यक्तिगत घटना दर्ताको विषयमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

मस्जिद मदर्सा मुस्लिम सेवा समाजका अध्यक्ष मोहम्मद नाइमुद्दिन भाटले अझै पनि धेरैले नागरिकता नपाएको भन्दै त्यस विषयमा चासो दिन आग्रह गरेका थिए ।

यसैबीच मुस्लिम आयोगले प्रदेश प्रमुख मियाँलाई आयोगको प्रतिवेदन पनि पेश गरेको छ । प्रतिवेदन अध्यक्ष अन्सारीले आयोगलाई अझै बलियो बनाउनु पर्ने र सबै ठाउँमा समावेशीको सिद्धान्तअनुसार अवसर पाउनु पर्नेमा जोड दिएका थिए ।

प्रदेश प्रमुख मियाँले प्रतिवेदन बुझ्दै आयोगलाई मुस्लिम समुदायले अधिकार सुनिश्चित गर्नेगरी काम गर्न सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *