विद्युतीय अपराधका घटना बढ्दै गएकोमा सरोकारवालाको चिन्ता – Nepal Press

विद्युतीय अपराधका घटना बढ्दै गएकोमा सरोकारवालाको चिन्ता

रुपन्देही । सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका अपराधहरु बढ्दै गएको र यसमा बालबालिका र महिलाहरु बढी पीडित बनेकाले सर्तक रहन आग्रह गर्दै नियामक निकायलाई कडाई गर्न आग्रह गरिएको छ ।

विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको सरोकारवाला क्षेत्रका प्रतिनिधिले बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा मंगलवार आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले यस्तो गुनासो गर्दै खबरदारीका लागि आग्रह गरेका हुन् ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीले अपराधका नयाँ नयाँ घटनाहरु आउन थालेका बताउँदै घरपरिवारबाटै बलात्कारका घटना र विवाहको प्रलोभन र जागिर लगाइदिने जस्ता लोभ देखाएर हुने प्रकृतिका महिला हिंसा बढेको बताइन् ।

उनले भनिन्– ’आफ्नै पारिवारबाट महिलाहरु सुरक्षित छैनन् । जसले गर्दा स्थानीय तहदेखि नै नियम कानुनलाई बलियो बनाउनुपर्ने र यसको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।’

बिसीले भन्छिन्, ’जिल्लाको दक्षिण क्षेत्रबाट प्रहरीले हाम्रा मुद्दाहरु दर्ता गरिदिएन भन्ने खालका गुनासाहरु आउँछन् । जिल्लामा मानव अधिकारको अवस्था हेर्दा कुपोषणको समस्या रहेको प्रति सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने देखिन्छ । ’

मानव अधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले नेपालको संविधानमा मानव अधिकारलाई सुनिश्चित गरेता पनि कार्यन्वयन पक्ष फितलो भएको बताउँदै कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय संवेदनशील अवस्था आएको जनाए ।

संविधानमा लिपिबद्ध रहेका अक्षरसलाई कार्यान्वयनमा के कसरी व्यावहारिक रुपमा लगिएको छ । त्यो हेर्नुपर्छ । नेपालमा मानव अधिकारको अवस्थालाई हेर्ने हो भने निकै कमजोर छ । सामाजिक न्यायको अवस्था, बालबालिकाको अवस्था र महिला सम्बन्धि यौनजन्य अपराधलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरु प्रभावकारी नभएको जस्तो देखिएको छ’ उनले भने ।

खनालले भने, महिला हिंसा विगतको भन्दा हाल केही सुधारिएको छ तर सन्तोषजनक छैन । बढ्दो विद्युतीय अपराधलाई कानुनी कट्घरामा प्रहरी पनि प्रविधिमैत्री हुनुपर्ने हुन्छ । अपराध गर्नेहरुले नयाँ टेक्नोलोजी अपनाएर अपराध गर्दै आएकाले प्रहरी पनि प्रविधिको ज्ञानमा अब्बल हुनुपर्ने छ ।’

उच्च अदालत बार एशोशियन बुटवलका पूर्वअध्यक्ष जोखवहादुर खत्रीले नागरिकका समस्याहरु प्रहरीमा उजुरी परेपछि पीडितहरुलाई दिने मनोपरामर्श सुरक्षित नभएको जिकिर गरे । पछिल्लो समय अदालतमा विद्युतीय अपराधका घटनाहरु बढ्दै गएको, साइबर क्राइमले समाजमा विभिन्न खालका आर्थिक, यौन शोषण र मानव बेचबिखन जस्ता अपराधबाट समाज र महिलाहरु त्यसको पीडित बन्न पुगेकाले संविधानमा उल्लेख गरिएको विद्युतीय कारोबार सम्बन्धि कानूनलाई कडाईका साथ लागू गरी यस्ता खालका घटनाहरुलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए ।

खत्रीले अहिले बैंकिङ उजुरीमा प्रहरीले असहयोग गरेको गुनासो पीडितहरुले गर्दै आएको र बलात्कार सम्बन्धि उजुरीमा प्रहरीले चासो नदिएको विषयहरु आउने गरेकाले प्रहरी संगठनले विशेष रुपमा ध्यान दिनुपर्ने उनले सुझाए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख विजयराज पण्डितले हिजो भौतिक रुपमा हुने अपराध आज विद्युतीयमार्फत् हुने भएकाले अपराधको अवस्था बदलिएकोले यसको नियन्त्रणका लागि प्रहरी संगठनभित्र हामी पनि प्रविधिको ज्ञानमा सशक्त हुनुपर्ने बताए ।

प्रहरीले उजुरी लिएन भन्ने गुनासोबारे उनले घटनाको प्रकृति र आवश्यक प्रमाण नभएको घटनामा सोही प्रकारको सल्लाह दिने र प्रहरीको क्षेत्राधिकारभित्र नपर्नेलाई सम्बन्धित निकायमा पठाउने गरेको बताए । उनले मानव अधिकारको विषयमा आफूहरु जहिले पनि सचेत भएर काम गर्दै आएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *