सीमावर्ती नेपाली रेडियोलाई नियमन गर्न भन्दै बिहारका मन्त्रीले भेटे अनुराग ठाकुर – Nepal Press

सीमावर्ती नेपाली रेडियोलाई नियमन गर्न भन्दै बिहारका मन्त्रीले भेटे अनुराग ठाकुर

दिल्ली । नेपाली एफएम रेडियोहरुलाई नियमन गर्न माग गर्दै बिहारका सूचना मन्त्री संजयकुमार झाले केन्द्रीय प्रसारण मन्त्री अनुराग ठाकुरलाई भेट गरेका छन् ।

नेपाली सीमावर्ती भारतीय क्षेत्रमा नेपालबाट प्रसारण हुने एफएम रेडियोको फ्रिक्वेन्सीले स्थानीय प्रसारणलाई प्रभावित तुल्याएको भन्दै बिहारका मन्त्री झाले केन्द्रीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

‘उत्तरी विहारका जिल्लाहरुमा नेपाली एफएम रेडियोका कार्यक्रममा प्रभाव र लोकप्रियता बढिरहेको छ । त्यसलाई नियन्त्रण गर्न गुणस्तरीय, शक्तिशाली र पहुँच हुने किसिमले अल इन्डिया रेडियोको पहुँच विस्तार गर्नसके प्रभावकारी हुनसक्छ’ ठाकुरलाई उनले भने ।

विकल्पको रुपमा बिहारका ३३ मिलियन नागरिकले बोल्ने मैथिली भाषामै कार्यक्रम उत्पादन गरेर प्रसारण गर्न सके राम्रो हुने सुझाव पनि झाले ठाकुरलाई बुझाएको पत्रमा उल्लेख छ ।

नेपाली र मैथिली भाषामा एकै समयमा कार्यक्रम प्रसारण हुने हुँदा विहारको ठूलो जनसंख्यासामु पुग्नको लागि १० किलोवाट एफएम फ्रिक्वेन्सीमा प्रसारण गर्नुपर्ने मन्त्री झाको सुझाव छ ।

चुनाव सम्बन्धी विज्ञापन र उम्मेदवारबारे नेपाली एफएमले उत्पादन गर्ने कार्यक्रमसँग विहारी एफएमले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको समेत जनाइएको छ । नेपालसँग ७५० किमी सीमा रहेको बिहारमा नेपाली एफएमले सस्तो र १०० भन्दा बढी चुनाव क्षेत्रमा प्रसारण गरेको कुरा पनि उल्लेख छ ।

सन् २०१९ मा भारतको केन्द्रीय सरकारले सीमावर्ती क्षेत्रमा रहेको सशष्त्र प्रहरी बलको पोस्ट वरपर सातवटा रेडियो परियोजना स्थापना गर्न अनुमति दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर