कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा दुई साता लकडाउन – Nepal Press

कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा दुई साता लकडाउन

रुपन्देही । कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा पुनः दुई साता लकडाउन हुने भएको छ । दोस्रो चरणको संक्रमण दर उकालो लागेपछि बैशाख २० गतेबाट शुरु भएको लकडाउन असार १४ गतेसम्म कायम थियो । एक महिनापछि जिल्लामा पुनः लकडाउन गर्नुपरेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले साउन १६ गते राती १२ बजेदेखि लागू हुने गरी साउन ३० गतेसम्म जिल्लालाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्नेसमेत बैठकको निर्णय छ ।

लकडाउन अवधिमा सरकारी तथा गैरसरकारी, बैंक तथा बित्तीय संस्था सार्बजनिक तथा निजी यातायातका साधन पूर्णरुपमा बन्द रहने छन् । खाद्यान्न पसलहरु सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ९ बजेसम्म मात्रै खुल्ला गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।

सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमण दर बढ्दै गएको हो । बिहीबार सन्धिखर्क गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३५ जना र छत्रदेव गाउँपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ५१ पुगेको छ । अहिले जिल्लाका बिभिन्न पालिकाहरुमा ५ सय ४४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा २३० जना, भूमिकास्थान नगरपालिकामा १०२ जना, शितगंगा नगरपालिकामा २९ जना, मालारानी गाउँपालिकामा ५६ जना, पाणिनि गाउँपालिकामा ५८ जना र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म ७१ जनाको ज्यान गएको छ । यस्तै जिल्लामा अहिलेसम्म २६ सय ९७ जनाले कोरोनालाई जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर