सत्ता गठबन्धन नछाड्न माधव नेपालमाथि यसरी बढ्दैछ दोहोरो दबाब – Nepal Press

सत्ता गठबन्धन नछाड्न माधव नेपालमाथि यसरी बढ्दैछ दोहोरो दबाब

दोस्रो तहका नेतासँग भरोसा टुट्यो, मन्त्रीदेखि राजदूतसम्म नेपालको भागमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरेर शेरवहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालमागि सत्तारुढ गठबन्धन नछाड्न दबाब बढेको छ ।

शनिवार दिनभर आफ्नै निवासमा आफू निकट सांसदहरुसँग छलफल गर्दा नेपाललाई केपी ओलीलाई अध्यक्ष मानेर पार्टी एकता नगर्न दबाब दिइएको छलफलका एक सहभागी बताए । नेपालले पनि आफू १० बुँदे सहमतिको आधारमा एकतामा जान नसक्ने बताएका छन् ।

नेपाललाई साथ दिएका २२ जना सांसद र उनी निकट कोर टिमका नेताहरुले लोकतन्त्र, संसद र संविधान बचाउन आफैंले बनाएको गठबन्धन नछाड्न दबाब दिएका छन् । उनीहरुले सरकारमा सहभागी हुनुपर्ने तर त्यसअघि दलको टुंगो लगाउनुपर्ने बताएका छन् ।

आफू निकट सांसदहरुसँग छलफलपछि शनिवार साँझ बरिष्ठ नेता नेपाल सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । नेपाललाई गठबन्धनका शीर्ष नेताले पनि सरकारमा सहभागी हुन र त्यसका लागि आवश्यक कानूनी लगायत अन्य बाधा फुकाउन सघाउने बताएका छन् ।

कांग्रेसका एक नेताले भने, ‘अहिले शेरवहादुरजी जुन कुर्सीमा हुनुहुन्छ माधवजीले साथ नदिएको भए सम्भव थिएन । त्यसैले उहाँलाई परेको अप्ठेरो हामीले फुकाइदिनुपर्छ तर गठबन्धनबाट उहाँ बाहिर जान हुँदैन । उहाँले गठबन्धन छाड्नुभयो भने उहाँले नै बनाएको सरकार फेरि खतरामा पर्छ र संसद विघटनतिरै जान्छ ।’

माधव नेपाल समूहलाई सरकारमा कम्तिमा ६ देखि ८ जना मन्त्री दिन गठबन्धनका नेता तयार छन् । ओली सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरु विहीवारै हटाउने तयारी थियो । तर गठबन्धनमा सल्लाह गरेरै टुंगो लगाउन भनेर रोकिएको बताइएको छ ।

सात प्रदेश प्रमुखमध्ये कांग्रेस,माओवादी र माधव समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने अनौपचारिक समझदारी भएको छ । त्यस्तै ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति रोकिएको छ ।

अब राजदूत लगायत सबै राजनीतिक नियुक्तिहरुमा पनि माधव पक्षले माओवादी सरह भाग पाउने अवस्था छ । एमाले एकताको लागि माधव नेपाल निकट प्रभावशाली नेताहरु वार्तामा अल्झिएका कारण सत्ता गठबन्धनको भागबण्डा र मन्त्रिपरिषद विस्तार समेत रोकिएको बारेमा शनिवारको शीर्ष बैठकमा पनि छलफल भएको थियो ।

नेपाल निकट एक नेताले भने, ‘माधव नेपाल अहिले बिगतमा एकल महासचिव भएको बेलाभन्दा बढी शक्तिसाली हुनुहुन्छ । उहाँले चाहँदा आजको भोलि आठ नौ जना मन्त्री,कम्तिमा दुईजना मुख्यमन्त्री,दुई प्रदेश प्रमुख,४ जना राजदूत बनाउने ठाउँमा हुनुहुन्छ । अरु धेरै ठाउँमा आफ्ना मान्छे सेटल गर्ने अवस्था छ । यो शक्ति उहाँ एमालेमा भोलि अध्यक्ष हुनुभयो भने पनि सम्भव छैन ।’

नेपाल अहिले दोस्रो पुस्ताको भरमा छैनन् । तेस्रो र चौथो पुस्ताको आडमा उनले दोस्रो पुस्तालाई क्रस गरेर विश्वासको मत दिनेदेखिका निर्णयहरुमा अघि बढेका हुन् । आफू निकट तेस्रो तहका नेताहरुसँग नेपालले दोस्रो तह (स्थायी कमिटीका सदस्य)हरुबाट धोखा हुन सक्ने बताउने गरेका छन् । नेपाल ओलीसँग मिल्नै नसकिने देखिरहेका छन् । तर दोस्रो तहका नेताहरुको दबाबमा छन् ।

नेपाल निकट नेता राजेन्द्र राईले भन्छन्, ‘दोस्रो तह भने पनि जे भने पनि उनीहरु केपी ओली गुटमा जानका लागि १० बुँदे सहमतिको साँघु बनाएका हुन् । उनीहरुलाई एमाले फुट्यो भने खान पाइँदैन भन्ने मात्र छ । झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी वा त्यस्ता उपायको खोजी नगरी, काले काले मिलेर खाऔ भाले भनेर गरिने एकता किमार्थ दिगो हुन सम्भव छैन ।’

माधव पक्षबाट वार्तामा सहभागी भएका कतिपय नेताले पहिलो पुस्ताका नेतालाई बिदा गरेर भने पनि एमाले एक बनाउने भन्न थालेपछि नेपाल झनै झस्किएका छन् । उनले भीम रावल,भीम आचार्य,योगेश भट्टराई लगायतका केही नेताको नामै लिएर अशन्तुष्टी व्यक्त गरेका छन् । भोलि अलग हुनु पर्दा यी मध्ये कतिपय छुट्ने संकेत समेत नेपालले गरेका छन् ।

माधव नेपालको सजिलोका लागि संसद अन्त्य गरेर अध्यादेशमार्फत दल विभाजनका लागि सहज बनाइदिन सत्ता गठबन्धन तयार छ । तर त्यसो गर्दा महन्थ ठाकुर पक्षलाई पनि फाइदा हुन्छ । नेपालले नयाँ दल दर्तामा हतारो गरेका छैनन्,तर सरकारलाई पूर्णता दिन गठबन्धनलाई हतारो छ ।

सम्भवतः निर्वाचन आयोगबाट जसपाको आधिकारिकता टुंगियो भने मन्त्रिपरिषद विस्तार हनेछ । त्यो अवस्थामा माधव नेपालले अझै एक पटक एमालेमै ओलीमाथि हाबी हुने सम्भवना देखे भने तत्काल माधव पक्ष सरकारमा नजान सक्छ । नत्र एमालेको छिनोफानो पनि यसै साता हुन्छ र माधव नेपाल सत्तारुढ हुनेछन् ।

विश्वासको मत दिने बेला माधव पक्षका १० जना तटस्थ बसेपछि ७ जना सांसदसहित नेपाललाई साथ दिएका अर्का नेता प्रेम आलेले सम्माजनकरूपमा एकता नहुने हो भने एमाले एकतामात्र भनेर कार्यकर्तालाई न्याय नहुने प्रतिक्रिया दिए । माधव नेपाललाई संकटमा साथ दिनेहरू नै एमालेको वास्तविक पंक्ति भएको उनको भनाइ छ ।

उनले भने, ‘हिजोदेखि अन्याय र उत्पीडनमा परेका नेता कार्यकर्तालाई न्याय दिन ठाउँमा आज माधव नेपाल पुग्नुभएको छ । मन्त्री, राजदूत, संवैधानिक नियुक्तिहरूमा माधव नेपालले चाहँदा हुने अवस्थामा फेरि एकताका नाममा तल परेर कार्यकर्ताले न्याय पाउने अवसरलाई वञ्चित गर्न मिल्दैन । हामी सम्मानजनक एकता हुनुपर्छ भन्छौं ।’

नेपाल दैनिकजसो देउवा र प्रचण्डसँग छलफलमै छन् । अहिले गठबन्धनले सबैभन्दा बढी माधव नेपाललाई नै महत्व दिएको छ र माधव नेपालको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ । तर एमालेभित्र ओली र नेपालबीच वार्ता गराएर ‘पावर शेयरिङ’ गरेर भने पनि पार्टी जोगाउनुपर्छ भन्ने प्रयास जारी छ ।

ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीहरु र नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यहरु एकताको प्रयासमा थाकेका छैनन् । नेपाललाई अर्को अध्यक्ष बनाएर भने पनि पार्टी जोगाउनुपर्छ भन्ने उनीहरुको धारणा छ ।

उनीहरुले ओली र नेपालबीच वार्ता गराउन खोजेको ५ दिन भइसक्यो । तर नेपालले लिखित प्रस्तावबिना वार्तामा बस्न रुचाएका छैनन् । खासमा नेपाल वार्तामा बस्नै चाहेका छैनन् । ओलीलाई शनिवार युथ फोर्सका कार्यक्रममा जानबाट उनी निकटै नेताहरुले रोक्नुको कारण पनि माधव नेपाललाई भड्किन नदिन नै हो ।

तर नेपालले भरोसा गरेका र नेपाललाई बिनाशर्त साथ दिइरहेका नेताहरुका कुरा सुन्दा अ‍ोलीले अध्यक्ष पद छाडेमात्र एमाले एकता हुनसक्छ, जुन कुरा सम्भव छैन ।


प्रतिक्रिया

2 thoughts on “सत्ता गठबन्धन नछाड्न माधव नेपालमाथि यसरी बढ्दैछ दोहोरो दबाब

  1. ओलि जस्तो प्रतिगमनकारीको मतियार बन्नु भन्दा माधव नेपालले अर्कै पार्टी बनाएर जानू उपयुुक्त हुन्छ।ओलिको कार्यशैली,ओलिका मतियारले बोलेका भाषा कुनै लोकतान्त्रिक पद्धति अङ्गालेका मुलिकले देशले बोल्ने छैनन्। ओलिको समर्थक भनेका अनपढ युवाहरुको केही जमात छ।७७ वटै जिल्लामा धेरै ईमानदार नेताकार्यकर्ता माधव नेपालको पक्षमा छन।

    1. Ho ho makune gaddae ko jhole jun thaalma khanxwu tei thaal ma thukna parxa tei 22 jana samsad madhye euta kobfake id hola

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर