अनसन बसेका कार्यकर्ताको माग सुनुवाइ गर्न देउवाको निर्देशन – Nepal Press

अनसन बसेका कार्यकर्ताको माग सुनुवाइ गर्न देउवाको निर्देशन

तल्लो तहको अधिवेशन सार्ने विषय भोलि टुंगो लाग्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अनसन बस्दै आएका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन् ।

बूढानीलकण्ठस्थित निवासमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले अनसन बसेकाहरूको माग आज दिनभरमा सुनुवाइ गरी भोलि बिहानको बैठकमा पेस गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘सभापतिजीले निर्देशन दिनु भएको छ- पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनसन बस्दै आउनु भएका छ, उहाँहरुको मागको सुनुवाइ आजै गरी भोलि बस्ने बैठकमा पेस गर्नू,’ देउवाको भनाइ उद्धृत गर्दै शर्माले भने ।

बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आफ्नो समितिको प्रतिवेदन बुझाउने जानकारी गराएका छन् । भोलि बिहान ९ बजे बोलाइएको पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि तय गरिएको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनसमेत नआएकाले सो सम्बन्धी मिति तय गर्ने विषयमा पनि भोलि बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माको भनाइ छ । उनले भने, ‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचन समितिलाई सो बुझाउनुपर्ने हुन्छ । सो बुझाएपछि मात्रै तल्लो तहको पार्टीको अधिवेशन शुरू हुने भएकाले भोलिको पदाधिकारी बैठकले त्यसको अधिवेशन मिति सार्ने विषयमा पनि टुंगो लगाउनेछ ।’

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन शुरू गर्न सकिने भएकाले त्यसको मिति सार्न बैठकमा प्रस्ताव राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर