गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ? – Nepal Press

गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदको लिस्टमा कृष्णलाल महर्जनको नाम पनि छ । एमाले कार्यकर्ताले गद्दार २२ जना भन्दै कारवाहीको माग गरेकाहरूमा उनी पनि छन् ।

तर, संघीय संसद सचिवालयको विश्वासको मतका पक्षमा मतदान गर्ने सांसदहरूको सूचीमा १६३ जनामात्र छन् । १६५ जनाले विश्वासको मत दिएकोमा १६३ मात्र किन भयो ?

यो संख्याले कांग्रेस सांसद गगन थापालाई समेत झुक्याएको थियो । उनले संसदमा मतदान सकिएलगत्तै मत सच्याउन सभामुखले समय दिनुअघि ट्वीट गरे- १६३ ।

कतिपय मिडियाले समेत गगनलाई आधार मानेर देउवालाई १६३ सांसदले विश्वासको मत दिएको भनेर समाचार प्रकाशन प्रसारण गरे । तर, अन्तिम मत परिणाम सुनाउँदा सभामुखले विश्वासको मतको पक्षमा १६५ सांसद रहेको बताए ।

आखिर २ जना कहाँबाट थपिए ? यसको खास कारण थियो कोभिड संक्रमित दुई सांसदलाई अलग्गै मतदानको व्यवस्था । १६३ जना विश्वासको मत दिने सूचीमा सत्तारुढ माओवादीकी सांसद धर्मशीला चापागाईले पनि हस्ताक्षर गरेकी छन् ।

माधव नेपाल पक्षधर ललितपुर २ बाट निर्वाचित सांसद कृष्णलाल महर्जनले नेपाल प्रेससँग कुरा गर्दै आफू र धर्मशीला चापागाई कोभिड संक्रमित भएकाले अलग्गै मतदान गरेकाले शुरूमा १६३ को समाचार प्रवाह भएको बताए ।

उनले भने, ‘मैले देउवालाई नै विश्वासको मत दिएको हुँ । संक्रमित भएकाले माओवादी सांसद धर्मशीलाजी र मलाई अलग्गै व्यवस्था गरिएको थियो । त्यसैले शुरूमा १६३ मात्र गणना हुँदा धेरै झुक्किएछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर