म शेरबहादुरजीको ढाल बनेर नउभिएको भए पार्टी छिन्नभिन्न हुन्थ्यो : शशांक कोइराला (भिडियो) – Nepal Press

म शेरबहादुरजीको ढाल बनेर नउभिएको भए पार्टी छिन्नभिन्न हुन्थ्यो : शशांक कोइराला (भिडियो)

‘म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना मात्रै सभापतिको उम्मेदवार’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने दावी गरेका छन् । पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उनको उद्‍घोष छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यसका लागि आग्रह गर्ने बताए । तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको उनको टिप्पणी छ ।

नेता पुत्रत्रयको भेटघाट गुट-उपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाई सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि भएको उनले स्पष्ट पारे ।

प्रस्तुत छ, आसन्न महाधिवेशन, क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा महामन्त्री कोइरालासँग गरिएको कुराकानी:

आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रूपमा ?

सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । यो अन्त्य अन्त्यसम्म आईपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशील सदस्यताको अन्तिम टुङ्गो लाग्छ र एउटा खाका तयार हुन्छ । त्यसपछि हामी अधिवेशनतर्फ जान्छौ ।

अहिले पार्टीको ध्यान नै क्रियाशीलतर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो । क्रियाशील सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरू पनि हुनुहुन्थ्यो । हामी क्रियाशील सदस्यतालाई कसरी टुङ्गो लगाउने भनेर छलफल गर्दै थियौं । क्रियाशील टुङ्गो नलगाईकन त हामी महाधिवेशनमा जान सक्क्तैनौं । त्यही नै अवस्था हो ।

क्रियाशील सदस्यता तत्काल टुङ्गो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ । कि त्यो आशंका गलत हो ?

यो महिनाभित्र क्रियाशील सदस्यता टुङ्गो लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि । हरेक जिल्लामा केही न केही समस्या छ । भन्छन्, ४६ जिल्लामा भईसक्यो । त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नुपर्‍यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशील सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ ।

अहिले शीर्ष नेताका तीनजना पुत्र नेताहरूको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईहरूको बैठकका उद्देश्य ?

खासमा विमलेन्द्र निधीले इनिसियट गरेको हो । सबैभन्दा पहिले उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो । दोस्रोपटक यहीँ मिटिङ गर्यौं र तेश्रोपल्ट प्रकाशमानजीकोमा । हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्‍यो ।

सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठिकै भयो । हामीमध्ये एकता हुनुपर्‍यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरू छन् । एउटा कि विमलेन्द्र निधीले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोस्रो कुरा हामी तिनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ । प्रकाशमान र म त छँदै छु । मैले के भनेँ भने, हामी तीनजनाबाट ५ जना गरौं, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौं । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।

हामी तीनजना एकठाउँमा उभियौ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ बिमलेन्द्र निधीले । राम्रो पनि भयो । नकारात्मक पक्षहरू पनि छन् तर त्योभन्दा भन्दै पनि हामीले तीनैजना (नेतापुत्रहरू) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रुपमा दिएको छ ।

मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिर्वतन नगरौं भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईहरूको पहल पनि भईरहेको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय त आएको छ । मेरो भनाई के हो भने अधिवेशन आउँदै छ । हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीनजना नेता पुगेका छौ । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ ।

तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने सम्भावना हुन्छ । त्यसले पार्टीलाई पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो ।

तीनैजना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्‍यो, कि त तिनैजना लड्नुपर्‍यो । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरू छन् ?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नुपर्‍यो । वार्तामा बसेर कुनै टुङ्गोमा त पुराउनुपर्‍यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौ भनेर त एकजना मात्रै उभिनु पर्‍यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन । त्यसैले हामी तीन जनाले यति चाहीँ के भन्नुपर्‍यो भने हामीमध्ये एक जना उभियौं भने चाहीँ सजिलोसँग हस्तान्तरण हुन्छ ।

अनि त्यो समयमा रामचन्द्र र शेरबहादुरजीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

शेरबहादुरजीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाब भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ । तर उहाँ पनि प्रत्याशी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्‍यो कि तपाईं अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् ।

मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भइसक्नुभयो । उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहीँ अप्ठयारो हुन्छ ।

अहिले महामन्त्री हुनुहुन्छ । तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

सबैभन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरूसंग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाह, सुझाव एउटा त्यो भयो । दोस्रो कुरा नेताहरूबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भईरहेको छ, नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसंग पनि कुरा त भईरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुङ्गोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जोसुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

आफ्नो कार्यकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरू गर्यो । त्यसमा दह्रो गरी बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनयन गर्ने कुराहरू भए, त्यो बेला पनि बोलेनन् । जुन विषय नबोल्नुपर्ने थियो, धर्मनिरपेक्षतालगायत विषयमा बोले किन ?

म भन्न चाहन्छु । एउटा त शेरबहादुर हाम्रो सभापति । यत्रो हार भयो चुनावमा, हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरू हौ । हाम्रो पनि उत्तिकै गल्ती हो । म ढाल बने शेरबहादुरजीको । मैले शेरबहादुर जीलाई धेरै सेभ गरेको हो । मैले नै विरोध गरिदिएको भए पार्टी एक त छिन्नभिन्न छ, झन् बिग्रेर जानसक्ने अवस्था हुन्थ्यो । मैले शेरबहादुरजीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्रभए त मैले पनि त बोल्न सक्थेँ नि ।

तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईलाई दिदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपथ्र्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टीभित्र ? त्यो हिसाबले मैले नबोलेको ।

तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहीँ किन त ? एकपटक होइन तीन–तीनपटक धर्मको बारेमा बोल्दिनुभयो नि ?

हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले शुशिलदालाई भनँे, ‘हेर्नुहोस् शुशिल दा, यो वीपी कोइरालाले बनाएको पार्टी । यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । तपाईले धर्मनिरपेक्षता किन गर्दै हुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५, ७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो, ‘यो प्रेसर छ, मलाई के गर्छस् । पछि यो चेञ्ज गरौला ।’

त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त शुशिल कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो । त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरू के–के हुनेछन् ?

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हाम्रो धरासायी हुने प्रथम काराण के हो भने टुक्रा–टुक्रा भएको, गुटउपगुटहरूले ध्वस्त पारेको छ । सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ त सबैको सभापति हो नि ।

उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँ नै सफल सभापति हुनुहुन्थ्यो । तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔ । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । विपि कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरू चाहीँ मनोनित हुनुपर्छ भन्नुभयो । प्रेसिडेन्सीयल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्‍यो, तर ऊ आईसकेपछि उसले आफ्नो

शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्‍यो । महामन्त्री एकजना, उपसभापति, यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्‍यो । सबैले लडेर हुँदैन । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

शासकीय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईको टिप्पणी के छ ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै बर्षदेखि उठिरहेको छ । म चाहीँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आफ्नो बहुमत ल्याउँछ । त्यहीअनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाईरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुदैन ।

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुङ्गो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागिरहेका पनि छौ । समिति बनाएर जिम्मा पनि लगाएका छौ । अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्‍यो । बिजय गच्छदारको पार्टी, सुनिल थापाजीको पार्टीको क्रियाशीलहरू पनि समावेश हुनुपर्‍यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्‍यो । मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर