सशस्त्रमा ३ डीआईजीपीका लागि बढुवा प्रक्रिया सुरू, धौबजी, न्यौपाने र खड्का दौडमा – Nepal Press

सशस्त्रमा ३ डीआईजीपीका लागि बढुवा प्रक्रिया सुरू, धौबजी, न्यौपाने र खड्का दौडमा

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा २ डिआईजीपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले डीआईजीपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

बढुवाका लागि एसएसपी कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का दौडमा रहेका छन् । उनीहरु तीनैजना २०७५ पुष २० गते एसएसपीमा बढुवा भएका थिए । उनीहरु सबैले प्रहरी नायब निरीक्षक (सई)  बाट सेवा सुरु गरेका हुन् ।

धौबजी, न्यौपाने र खड्काले नेपाल प्रहरीमा हुँदा प्राविधिकका रुपमा सेवा प्रवेश गरेका थिए। धौबजी २०५२ असोज २५ , न्यौपाने २०५२ फागुुन १ गते र खड्का २०५० भदौ १ गते नेपाल प्रहरीको सई बनेका थिए ।

त्यस्तै भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक पनि डीआइजीका लागि प्रतिस्पर्धी मानिएका छन् । उनीहरूले पनि नेपाल प्रहरीमा सइका रूपमा सेवा सुरु गरेका थिए। तर, पछि उनीहरू सशस्त्र प्रवेश गरे।

बुधवार रिक्त ३ दरबन्दीमा तीन दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजीपी) रामशरण पौडेलले सूचना जारी गरेका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम मूल्यांकन फारम भरेर ३ दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना जारी गरिएको हो ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजीपी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा ३ सदस्यीय बढुवा समिति रहेको छ। जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने व्यवस्था छ ।

सशस्त्र प्रहरी बल मुख्यालयले डीआईजीपी बढुवालगत्तै सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्मको बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्रमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि डिएसपीसम्म बढुवा रोकिएको लामो समय बितिसकेको छ । डीएसपीदेखि डिआईजीसम्म १ सय ६ पद रिक्त रहेका सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका डीआईजीपी राजु अर्यालले नेपाल प्रेससँग बताए । । सशस्त्रमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *