गाउँसभा बहिस्कार गरेका वडाध्यक्षले मागे ओमसतिया गाउँपालिकाको हिसाब – Nepal Press

गाउँसभा बहिस्कार गरेका वडाध्यक्षले मागे ओमसतिया गाउँपालिकाको हिसाब

रुपन्देही । असार १० गते गाउँसभा बहिस्कार गरेका रुपन्देही ओमसतिया गाउँपालिकाका वडाअध्यक्षहरुले आफ्नै पालिकाको सूचना माग गर्दै निवेदन दर्ता गरेका छन् । वडाअध्यक्ष र निर्वाचित कार्यपालिका सदस्यहरुले समेत गाउँपालिकाका योजना, बजेटलगायत महत्वपूर्ण कार्यक्रमबारे आफूहरुलाई जानकारी नदिएको भन्दै गाउँपालिकामा सूचनाको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

पालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत मिलेर बजेट बनाएको आरोप लगाउँदै बहुमत कार्यपालिका सदस्यले असार १० गते नीति तथा कार्यक्रम र बजेट पेशका लागि बोलाइएको अधिवेशन बहिस्कार गरेका थिए । उनीहरुले सामूहिक पत्रकार सम्मेलन गर्दै पालिकाको काम पारदर्शी नभएको आरोप लगाएका थिए ।

गाउँपालिकाका सूचना अधिकारी हरिप्रसाद पोखरेललाई सम्बोधन गरेर पेश गरिएको निवेदनमा गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृत र सूचना अधिकृतसमेतले स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत मनोमानी तरिकाले गतिविधि गर्दै आएकोले गाउँपालिकाका आर्थिक, सामाजिक र विकासका कृयाकलापको सूचना माग गरिएको उल्लेख छ ।

वडा नम्बर १ का वडाध्यक्ष बेलबहादुर बराल मगर, २ ज्ञानेश श्रेष्ठ, ३ का चन्दरप्रसाद अहिर, ४ का मसहुर मुसलमान, ५ का ओमप्रकाश चौधरी र ६ शिवकुमार धवलले दिएको उक्त निवेदनमा गाउँपालिकाले आगामी दिनमा सार्वजनिक सूचना जारी गरेर मात्र कार्यक्रम तथा योजना अगाडि बढाउन आग्रह गरेका छन् ।

गाउँपालिकाका प्रवक्ता धवलसहित ६ वटै वडाका अध्यक्षले गाउँपालिका कार्यालय, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सूचना आयोग र जिल्ला समन्वय समितीलाई समेत बोधार्थ दिएका छन् ।

पालिका अध्यक्ष हिरा केवटले प्रमुख प्रशासकीय अधिकृतसंगको मिलेमतोमा विगतका वर्षदेखि नै गाउँपालिकामा एकलौटी र मनोमानी रुपमा योजना छनोट गर्ने, बजेट बाँडफाँट गरी दुरुपयोग गर्ने तथा जनप्रतिनिधिहरुले समेत सूचना माग गर्दा उपलब्ध नगराएको वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले बताए ।

यसअघि गत असार १० गते रुपन्देहीका १५ वटा स्थानीय तहले बजेट प्रस्तुत गर्दा ओमसतियाले मात्रै बजेट ल्याउन सकेको थिएन । गाउँपालिकामा रहेका ३४ जना जनप्रतिनिधिमध्ये ७ जना मात्रै उपस्थित भएपछि गाउँसभा स्थगित गरिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र गाउँ–नगरसभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सोही सभामा पेश भएको बजेटमाथि कार्यतालिका बनाइ १५ दिन भित्र छलफलको काम सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

ओमसतिया गाउँपालिकामा क्रियाशील रहेका नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा र नेकपा एमालेको माधव नेपाल समूहले गाउँपालिका अध्यक्ष केवट मनोमानी ढंगले अगाडि बढेको र आर्थिक रुपमा अपारदर्शी काम गरेको आरोपसमेत लगाएका छन् ।

तर पालिका अध्यक्ष केवटले सबै वडाध्यक्षले आफ्नो वडामा दुई करोड रकम माग गरेर विवाद गरेको बताए । उनले केन्द्रमा रहेको गठबन्धनका आधारमा यहाँ पनि एकपक्षीय रुपमा विवाद खडा गरेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *