बहुमत कार्यपालिका सदस्यकाे बहिष्कारपछि ओमसतिया गाउँपालिकाको ‘बजेटसभा’ स्थगित – Nepal Press

बहुमत कार्यपालिका सदस्यकाे बहिष्कारपछि ओमसतिया गाउँपालिकाको ‘बजेटसभा’ स्थगित

रुपन्देही । वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यले बहिष्कार गरेपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाको आज बोलाइएको गाउँसभा स्थगित भएको छ ।

पालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले आफूहरुसँग समन्वय नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेको भन्दै ६ जना वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले गाउँसभा बहिष्कार गरेपछि आजको सभा स्थगित भएको हो । पालिका अध्यक्ष हिरा केवटले आज बोलाइएको गाउँसभामा गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको र ३ दिनपछि गाउँसभा बोलाइएको बताए ।

वडाध्यक्षहरुले बिहीबार दिउँसो बोलाइएको गाउँसभा बहिष्कार गर्ने घोषणा बिहानै गरेका थिए । ओमसतियाका ६ जना वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको निर्णयबिना मनोमानी ढंगले गाउँसभा बोलाइएकोले बहिष्कार गरेको बताएका छन् ।

पालिका अध्यक्ष हिरा केवटले प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रमलगायत आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाको दुईतिहाई बहुमत कार्यपालिका सदस्य र वडा सदस्यहरुले बहिष्कार गर्ने घोषणा गरेको उनीहरुको दावी छ ।

बहिष्कार गर्ने रहर नभइ कार्यपालिका सदस्यहरुको सहमतिबिना नै गाउँसभा बोलाइएकोले आफूहरु बहिष्कार गर्न वाध्य भएको वडा नम्बर ६ का वडाअध्यक्ष शिवकुमार धवलले बताए ।

गाउँपालिकाका दुईतिहाई बहुमत कार्यपालिका सदस्यहरुले गाउँपालिकाद्वारा सञ्चालित बजेटको आयव्ययको विवरणसम्बन्धी जानकारी नपाएको र कर्मचारी नियुक्ति गर्दा मनलाग्दी गरेकाले गाउँसभा बहिष्कार गर्ने अडान लिन बाध्य भएको धवलले बताए ।

वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम जनताको अत्यावश्यक योजना भन्दाविपरीत आफूलाई चुनावमा सजिलो हुने गरी प्रचारमुखी योजना तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाए ।

३४ जना गाउँसभाका सदस्यमध्ये २५ जना सदस्य आफूहरुसंग रहेको वडाअध्यक्ष शिवकुमार धवलले दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *