जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल – Nepal Press

जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल

काठमाडौं । फ्रान्सविरुद्धको हारसँगै युरो २०२० को सुरुआत गरेको जर्मनीले समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलको नतिजामा पराजित गरेको छ ।

शनिबार राति जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको खेलको सुरुआतमा ०-१ को नतिजामा पछिपरेको जर्मनीले लगातार चार गोल फर्काएको थियो ।

पोर्चुगलका कप्तान तथा प्रतियोगिताका सर्वकालिन सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमा गरेको गोलसँगै पोर्चुगलले अग्रता लिएको थियो ।

यद्यपि, चार मिनेटको फरकमा दुई आत्मघाती गोलको शिकार भएको पोर्चुगल पहिलो हाफ सकिँदा २-१ ले पछाडि परेको थियो । रुबेन डियासले ३५औं मिनेटमा गरेको आत्मघाती गोलसँगै बराबरीमा फर्किएको जर्मनीले ३९औं मिनेटमा राफाएल गुरेरोको अर्को आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो ।

पहिलो हाफमा २-१ को अग्रता लिएको जर्मनीका लागि ५१औं मिनेटमा काइ हाभेट्जले तेस्रो गोल गरेका थिए । त्यसको ९ मिनेट नबित्दै रोबिन गोसेन्सले जर्मनीको अग्रता ४-१ मा लम्ब्याएका थिए ।

डिएगो जोटाले ६७औं मिनेटमा गरेको गोलसँगै पोर्चुलले स्कोर लाइन ४-२ मा छोट्याए पनि हार टार्न सकेन ।

पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा फ्रान्सको सामना गर्नेछ । यस्तै जर्मनीले हंगेरीसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर