फणिन्द्र नेपाल भन्छन्- भारतीय सेनामा नेपाली महिलाको खोजी मनोरञ्जन र यौनशोषणका लागि – Nepal Press

फणिन्द्र नेपाल भन्छन्- भारतीय सेनामा नेपाली महिलाको खोजी मनोरञ्जन र यौनशोषणका लागि

काठमाडौं । ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालले भारतीय सेनामा अहिले आएर नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहेको बताएका छन् । नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धीविपरीत रहेको समेत उनले उल्लेख गरे ।

‘नेपाली युवतीहरूलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन,’ नेपालले भने, ‘यौन शोषण र मनोरञ्जनका लागि मात्र हो ।’

उनले गोर्खा भर्ती सम्बन्धमा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतामा ‘गोर्खा जवान’ भनेर पुरुषलाई मात्रै ईंगित गरिएको बताए । अहिले नेपालसँग कुनै सल्लाह नगरी महिलाका लागि भर्ती खुलाउनु गम्भीर विषय रहेको उनको टिप्पणी छ ।

नेपालले भने, ‘नेपाली पुरुषजस्तो महिलाहरुले विश्वयुद्ध लडेर वीरङ्गनाका रुपमा कहलिएको अवस्था पनि होइन । त्यसैले यौनशोषणबाहेक अरु उद्देश्य हुनै सक्दैन ।’

भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत बुझेर रोक लगाउनुपर्ने उनको भनाइ छ ।

‘हामी एउटा सार्वभौम देश भएको नाताले आफ्ना देशका नागरिक अर्को देशको सेनाका लागि लड्न पठाउनु नै गलत छ,’ उनी भन्छन्, ‘झन् महिलाको विषय झन् संवेदनशील हो । उनीहरू धेरैखाले जोखिममा हुन्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर