धनुषामा निषेधाज्ञा थपियो, शव व्यवस्थापन शुल्क सरकारले तिरिदिने – Nepal Press

धनुषामा निषेधाज्ञा थपियो, शव व्यवस्थापन शुल्क सरकारले तिरिदिने

जनकपुरधाम । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समय धनुषामा चौथो पटक थप गरिएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय ७ थपेको हो ।

निषेधाज्ञा आदेशलाई जेठ १७ गते राति १२ बजेबाट सात दिन थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘कोभिडको नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सुधार देखिएको छ । तर पनि संक्रमणको चुनौती अझै कायम रहेकाले निषेधाज्ञा सात दिन थप गर्ने निर्णय भएको छ ।’

कोरोनाको दोस्रो लहर चलेपछि धनुषामा वैशाख २२ गते निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञामा विहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक पसलहरु खोल्न दिएको छ । त्यसबाहेक सबै पसल ठप्प छ । शैक्षिक संस्था, उद्योग, कलकारखाना, सवारी साधन पनि खुलेको छैन ।

धनुषामा अहिले १५ सय ३९ जना कोरोनाका सक्रिय संक्रिमत छन् । अवस्था गम्भिर रहेका ३४ जनाको आइसीयूमा उपचार भइरहेको छ । यस्तै ८ जनाको भेन्टिलेटरको सपोर्टमा र १८० जना सामान्य उपचारमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा कोरोनाबाट ७७ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनमा भने लापरबाही देखिएको छ । शव व्यवस्थापन गर्न दिएबापत जनकपुरको स्वर्गद्धारीले १७ हजार रुपैयासम्म असुली गरिरहेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी बास्तोला स्वयंम स्वीकार्छन् ।

अब शव व्यवस्थापन शुल्क र शवबाहन शुल्क नेपाल सरकारले तिर्ने निर्णय भएको छ । गृह मन्त्रालयको निर्देशन समेतको आधारमा नेपाली सेनामार्फत शव व्यवस्थापन गर्दा शव बाहन शुल्क र दाहसंस्कारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय पनि गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

यस्तै जिल्लाभित्र एन्टिजेन परीक्षण किट पर्याप्त संख्यामा आएको भन्दै शंकास्पद लक्षण भएका व्यक्तिहरुको एन्टिजेन र पिसिआर परीक्षणको दायरा बढाउन सबै स्थानीय तहलाई निर्देशन समेत दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर