गिरिजाजस्तै संकट समाधानका लागि केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्छ: पोखरेल – Nepal Press

गिरिजाजस्तै संकट समाधानका लागि केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्छ: पोखरेल

घेराबन्दीले ओलीप्रति नै सर्वसाधारणको सहानुभूति बढेको दावी

काठमाडौं । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी नेताहरूको घेराबन्दी बढेपछि सर्वसाधारणको आकर्षण भने ओलीप्रति नै बढेको दावी गरेका छन् । अहिलेको विवादलाई आम मानिसले कुर्सीको लुछाचुँडीका रूपमा मात्र बुझेको उनको टिप्पणी छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरू जसरी एक ठाउँ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन,’ पोरखेलले समाजिक संजालमा लेखेका छन्, ‘बरु प्रमुख नेताहरूको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ। आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुँडीका रूपमा मात्र बुझिरहेका छन्।’

विगतमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको व्यापक विरोध भएको र पछि उनकै खोजी भएको उनको भनाइ छ । ‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रित थियो,’ उनको भनाइ छ, ‘त्यतिवेला उहाँको तीव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्‍यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिँड्न लागिरहेको भान भइरहेको छ ।’

गिरिजाजस्तै संकट समाधानका लागि ओलीको नै खोजी हुन सक्ने उनको दावी छ। ‘दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ,’ पोखरलले लेखेका छन्, ‘ त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकट समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर