सरकारी अस्पतालको अक्सिजन निजीमा पुग्यो, सहायक सीडीओ मिलेको आरोप – Nepal Press
प्रदेश २

सरकारी अस्पतालको अक्सिजन निजीमा पुग्यो, सहायक सीडीओ मिलेको आरोप

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको पठाइएको अक्सिजन सिलिन्डर निजी अस्पतालमा पुग्ने गरेको पाइएको छ । यहाँ निजी अस्पतालहरू र प्रादेशिक अस्पतालमा ढल्केबर ग्याँस उद्योग प्रालीले अक्सिजन आपूर्ति गर्दै आएको छ ।

‘ढल्केबर ग्याँस उद्योगले आज प्रादेशिक अस्पतालको नाममा बिल काटेर ४५ सिलिण्डर अक्सिजन पठाएको थियो’, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रमोद यादवले भने, ‘तर, त्यो सबै अक्सिजन सिलिण्डर निजी अस्पतालमा पुग्यो ।’

मेसु यादवले अक्सिजन सिलिण्डर कुन अस्पतालमा पुग्यो भन्ने कुरा खुलाउन चाहेनन् । तर, यसरी प्रादेशिक अस्पतालका लागि पठाइएको अक्सिजन जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा अक्सिजन सिलिण्डर पुगेको स्रोतले बताएको छ ।

उक्त निजी अस्पतालका संचालक पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव हुन् । महामारीको यो संकटमा यादवले शक्ति र पहुँचको आडमा मनोमानी गरिरहेको टिप्पणी हुन थालेको छ ।

मेसु डा. यादवका अनुसार पहिले यस्तो लापरबाही नभएको तर विगत तीन दिनदेखि यहाँ आउने अक्सिजन सिलिण्डर निजी अस्पतालमा पुग्न थालेको छ । ‘प्रहरीको एसपी, डिएसपी र सिडीओलाई पनि जानकारी गराइसकेँ’ मेसु डा. यादव भन्छन्, ‘तर, कसैले वास्ता गरेका छैनन् ।’

‘यहांँ नि:शुल्क उपचार हुन्छ’, उनले भने, ‘अन्य अस्पतालमा उपचार सम्भव नभएका सिरियस बिरामी मात्र यहाँ आउँछन् । तर, अक्सिजन नै छैन । कसरी उपचार गर्ने ?’

यादव भन्छन्, ‘अहिले प्रादेशिक अस्पतालमा मात्र ३ अक्सिजन सिलिण्डर मात्र बाँकी छन् । जबकि ६० जना कोभिडका बिरामी यहाँ उपचाररत छन् । जसमध्ये १४ जनाको स्वास्थ्य अवस्था एकदमै चिन्ताजनक छ । यदि अक्सिजन जोहो गर्न सकिएन भने उनीहरूकोे ज्यान संकटमा परिसकेको छ । केही घण्टामा बाँकी अक्सिजन सकिन्छ । जसको परिणाम स्वरुप १२/१४ विरामीको ‘अन द स्पट’ ज्यान जानसक्छ ।’

यता, अक्सिजन आपूर्ति समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार कर्णले ढल्केबर ग्याँस उद्योगले अक्सिजन सिलन्डर पठाएपछि सबै अस्पताललाई वितरण गर्ने गरेको बताए । उनले २४ अक्सिजन सिलिन्डल प्रादेशिक अस्पताललाई पनि लैजान भनेको दावी गरे ।

‘उद्योगबाट जनकपुरको बृन्दावण कम्पलेक्समा अक्सिजन सिलिण्डर आउने गरेको छ’, सहायक प्रजिअ कर्णले भने, ‘त्यहाँबाट हामीले वितरण गर्ने गरेका छौं ।’

प्रादेशिक अस्पतालको नाममा बिल काटेर पठाएको अक्सिजन सिलिन्डर तीन दिनदेखि निजी अस्पतालमा पुगिरहेको विषयमा भने उनले बेखबर रहेको बताए ।

तर, ढल्केबर ग्याँस उद्योगका संचालक मुन्ना सर्राफले सहायक प्रजिअ कर्णको आदेशमा प्रादेशिक अस्पतालको अक्सिजन अन्य ठाउँमा पुगेको बताएका छन् । उनले भने, ‘मैले बुझे अनुसार ४५ अक्सिजन सिलिन्डर १० वटा निजीलाई दिएर बाँकी प्रादेशिक अस्पताल पठाएको जानकारी स्टाफबाट पाएको छु ।’ उनले आज मात्रै यसो भएको पनि बताए ।

‘उनले व्यक्तिगत लाभ लिएर निजी अस्पतालमा तीन दिनदेखि अक्सिजन सिलिण्डर पठाउने गरेका छन्,’ मेसु डा. यादवले भने, ‘प्रादेशिक अस्पतालको नाममा आउने सिलिण्डर सिधा यहीँ आउनु पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर