प्रधानमन्त्रीले २ महिनाअघि शिलान्यास गरेको औद्योगिक क्षेत्र निर्माणको काम अझै सुरु भएन – Nepal Press

प्रधानमन्त्रीले २ महिनाअघि शिलान्यास गरेको औद्योगिक क्षेत्र निर्माणको काम अझै सुरु भएन

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले पछिल्ला केहि समय पूर्वाधार निमार्णको कामलाई तीव्रता दिएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग मन्त्री लेखराज भट्टले शिलान्यास गरेको २ महिनासम्ममा पनि औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुन सकेको छैन् ।

गत फागुन १० देखि १६ गतेसम्ममा ‘दैजी-छेला औद्योगिक क्षेत्र’, ‘चीन-नेपाल औद्योगिक पार्क’, ‘नौबस्ता औद्योगिक क्षेत्र’, ‘मयूरधाप औद्योगिक क्षेत्र’ र ‘मोतिपुर औद्योगिक क्षेत्र’ को प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग मन्त्रीले शिलान्यास भएको थियो ।

शिलान्यास भएको २ महिनासम्ममा पनि निर्माण हुने भनको ५ वटा औद्योगीक क्षेत्रको टेन्डर प्रक्रिया अगाडि बढेको छैन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत गत फागुनमा शिलान्यास भएको औद्योगिक क्षेत्रहरुको टेन्डर प्रक्रिया नै अगाडि नबढेको बताए । शिलान्यास गरेका औद्योगिक क्षेत्र ५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

बस्नेतले भने, ‘दैजी–छेला औद्योगिक क्षेत्र’, ‘चीन–नेपाल औद्योगिक पार्क’, ‘नौबस्ता औद्योगिक क्षेत्र’, ‘मयूरधाप औद्योगिक क्षेत्र’ र ‘मोतिपुर औद्योगिक क्षेत्र’ को शिलान्यास भएपछि केही काम भएको छैन । सरकारले शिलान्यास गरेर काम गर्ने माहोल सुरु गरेको थियो । कोरोनाको दोस्रो लहर सुरु हुनुभन्दा पहिला टेन्डर प्रक्रियमा जान सकिएन । अब कोरोना पछि मात्रै टेन्डर खुलाएर काम अगाडि बढ्ने छ ।’

यो आर्थिक वर्ष प्रस्तावित नयाँ औद्योगिक क्षेत्रको लागि आएको १ अर्ब रुपैयाँ फ्रिज हुने भएको छ । नयाँ बजेटमा औद्योगिक क्षेत्र निर्माणको लागि १ अर्ब १० करोड रुपैयाँ बजेट सरकारसँग माग गरेको बस्नेतले बताए ।

नयाँ बजेट आएपछि ५ वटा औद्योगिक क्षेत्रको सडक र बिजुली लगायतको काम हुने बस्नेतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १० गते सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’ र फागुन १६ गते प्रदेश–१ झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन-नेपाल औद्योगिक पार्क’ को शिलान्यास गरेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले फागुन ११ गते लुम्बिनी प्रदेशको बाँकेस्थित ‘नौबस्ता औद्योगिक क्षेत्र’ र फागुन १४ मा वागमती प्रदेशको मकवानपुरस्थित ‘मयूरधाप औद्योगिक क्षेत्र’ को शिलान्यास गरेका थिए ।

फागुन १३ गते अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशस्थित रूपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास गरेका थिए ।

शिलान्यास गरिएका पाँचवटा औद्योगिक क्षेत्रमध्ये प्रदेश नम्बर १ को ‘चीन-नेपाल औद्योगिक पार्क’ सबैभन्दा ठूलो हो भने सबैभन्दा सानो वागमती प्रदेशको ‘मयूरधाप औद्योगिक क्षेत्र’ हो ।

कुन औद्योगिक क्षेत्रको लगात कति ?

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’ ८ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४५० बिघा रहेको छ ।

झापाको ‘चीन–नेपाल औद्योगिक पार्क’ प्रदेश नम्बर १ स्थित दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकालाई समेटेर ‘दमक–कमल–गौरादह औद्योगिक क्षेत्र’ २१ सय बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।

त्यस्तै लुम्बिनी प्रदेशको बाँकेस्थित ‘नौबस्ता औद्योगिक क्षेत्र’ ९ अर्ब स्वदेशी लगानीमा निर्माण हुँदैछ । यसको कुल क्षेत्रफल ३३८ बिघा रहेको छ ।

लुम्बिनी प्रदेशस्थित ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास भएको दोस्रो ठूलो औद्योगिक क्षेत्र हो । उक्त औद्योगिक क्षेत्र १२ अर्ब विदेशी लगानीमा निर्माण गर्ने सरकारको योजना रहेको छ । यो औद्योगिक क्षेत्र करिब ९३५ बिघा क्षेत्रफलमा निर्माण गरिनेछ ।

१९ नयाँ औद्योगिक क्षेत्र थप्ने सरकारी लक्ष्य अलमलमा

कोरोनाको कारणले सबै स्वास्थ्य भन्दा बाहेकका क्षेत्र अलमलमा परेका छन् । कोरोना महामारीको कारण नयाँ बजेट स्वास्थ्यको क्षेत्रमा नै प्रयोग हुने भएकाले पनि अन्य भौतिक संरचना निर्माण पछाडि धकेलिने अवस्थामा पुगेको छ ।

हाल बालाजु, हेटौंडा, पाटन, नेपालगञ्ज, धरान, पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्रनारायण सिंह गरी १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् । उद्योग स्थापना गर्न आवश्यक पूर्वाधार एउटै स्थानमा उपलब्ध गराई नेपाल सरकारबाट २०१६ सालमा संयुक्त राज्य अमेरिकाको प्राविधिक तथा आर्थिक सहयोगमा ‘बालाजु औद्योगिक क्षेत्र’ स्थापना गरी औद्योगिकीकरणको थालनी भएको थियो ।

२०१६ देखि २०४४ सालसम्म निर्मित १० वटा औद्योगिक क्षेत्रहरू केन्द्र मातहत सञ्चालन हुँदै आएकोमा २०४५ साल जेठमा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र औद्योगिक क्षेत्रहरूलाई अझै व्यवस्थित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्थापना भएको थियोे ।

त्यसपछि अन्य देशहरूको आर्थिक तथा प्राविधिक सहयोगमा ८ वटा औद्योगिक क्षेत्र र नेपाल सरकारको आफ्नै स्रोत–साधनमा दुई वटा औद्योगिक क्षेत्र स्थापना भएका हुन् ।

सरकारले लामो समयदेखि मुलुकका ७ प्रदेशको विभिन्न ठाउँमा १९ वटा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर काम अगाडि बढाएको थियो ।

वागमती प्रदेशको काभ्रेको पनौतीमा औद्योगिक क्षेत्र निर्माणका लागि अध्ययन गर्दा सहज नदेखिएकाले स्थापना नहुने भएको लिमिटेडले बताएको छ । गोरखाको च्याङफाँटमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र पनि गोरखाकै कोत्रेमा सारिएको छ ।

दाङको लक्ष्मीपुरमा स्थापना हुने औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआर निर्माणको काम चलिरहेको छ । दैलेखमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ ।

देशैभर बन्ने क्रममा रहेका औद्योगिक क्षेत्र निर्माणमा भने निकै समस्या देखिएका छन् । अधिकांश औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएको ठाउँमा जग्गाको अभाव र अध्ययन गर्दा उपयुक्त नदेखिएको पनि छन् । भने कुनैको स्थापना नै स्थगित गरिएको लिमिटेडले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर