मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावउपर वैशाख २७ मा मतदान – Nepal Press
गण्डकी प्रदेश

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावउपर वैशाख २७ मा मतदान

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक तय गरेको हो ।

सभामा विचाराधीन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि त्यही दिन मतदान हुने बैठकमा सहभागी नेकपा एमाले सांसद कृष्ण थापाले जानकारी दिए । ‘आज करिब ४ घन्टाको बैठकले एउटा निकास पायो,’ उनले भने, ‘२७ गते ११ देखि १ बजेको बीचमा बैठक बस्ने निर्णय गरियो ।’

वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक शुरू हुन सकेको थिएन । सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । १५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो ।

तर, मतदानकै दिन जनमोर्चा सांसद ‘बेपत्ता’ भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन् । थापाको निवेदनपछि सभामुख नत्रनाथ अधिकारीले अनिश्चित कालका लागि सदन स्थगन गरेका थिए ।

सदन स्थगन भएपछि पहिलो पटक सोमबार डाकिएको परामर्श समिति बैठक डाकिएको थियो । तर, बैठकले निर्णय गर्न नसकेपछि मंगलबार सर्वदलीय बैठक बस्ने र त्यही बैठकले निक्र्यौल गर्ने सहमति भएको थियो ।

तर, मंगलबारको सर्वदलीय बैठकले पनि कुनै निर्णय दिन नकसेपछि पुनः बिहीबारका लागि परामर्श समितिको बैठक डाकिएको थियो । बैठकले २७ गते सदन सुरु हुने निर्णय गरेको हो । ‘विपक्षी गठबन्धनले भोलि नै गर्नुपर्छ, बोलाउनुपर्छ भन्नु भएको थियो । त्यसमा हाम्रो स्वीकृति रहेन,’ सांसद थापाले भने, ‘पछि २७ गतेमै सबैको सहमति भयो ।’ वैशाख २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने वचन दिएको छ ।

सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले अहिलेकै सरकारलाई समर्थन गर्ने बताइसकेका छन् । उनी १६ गते खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयमा वैशाख २ गते मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भएको थियो । वैशाख १३ मा उक्त अविश्वास प्रस्ताव सभामा पेस भएर १५ गते मतदान गर्ने यसअघिको कार्यसूची थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर