शवदाह गृहमा पालो नपाउँदा बाहिरै जलाइयो संक्रमितको शव – Nepal Press
शवदाह गृहमा पालो नपाउँदा बाहिरै जलाइयो संक्रमितको शव
फाेटाे फिचर
विजय गजमेर २०७८ वैशाख २० गते १८:१६
२०७८ वैशाख २० गते १८:१६

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु दर बढेसँगै पशुपति आर्यघाटमा नदी किनारमै शव जलाउन शुरू गरिएको छ ।

कोभिड-१९ बाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो । शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो ।

आइतबार काठमाडाै‌ उपत्यकामा मात्र ३१ वटा शव व्यवस्थापन गरिएको भन्दै सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सोमबार ५ बजेसस्ममा पनि त्यति नै संख्याको शव व्यवस्थापनको अनुरोध आएको नेपाल प्रेसलाई बताए ।

दुई वटा विघुतीय शवदाह गृहमध्ये एउटा बिग्रिएको छ । यहाँ एक शव जल्न झण्डै २ घण्टा लाग्छ ।

‘मृत्युदर बढेसँगै शवदाह गृहमा जलाउन निकै समय लाग्ने हुँदा शव थुप्रिने भयो । तर, संक्रमित लाशहरूलाई यतिकै लामो समयसम्म राख्न जोखिम हुने भएकोले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी किनारमा नै लाश जलाउन थालेका छौं’, पौडेलले भने ।

खुल्ला ठाउँमा शव जलाउँदा संक्रमण फैलिने अहिलेसम्म कुनै वैज्ञानिक आधार नभेटिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।