क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी – Nepal Press

क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी

काठमाडौं । उप-प्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे चासो लिएका छन् ।

रंगशाला निर्माणका अभियन्ता एवं धुर्मस-सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहिबार सिंहदरबारस्थित कक्षमा भेट्दै पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका थिए ।

उपप्रधानमन्त्रीले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस-सुन्तली फाउन्डेशनको प्रशंसा गरे । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’ पोखरेलले भने ।

उनले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने जनाए ।

उप-प्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिएकामा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए ।

‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’’ धुर्मुसले पीडा सुनाए ।

अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी धुर्मुसले दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए ।

‘हाम्रो कुनै स्वार्थ छैन्, हामी विशुद्ध कलाकार हौं । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्’ धुर्मुसले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर