अमेरिकी संसदलाई राष्ट्रपति बाइडेनको सम्बोधन : सामाजिक सुधारका लागि ४ ट्रिलियन डलर खर्च प्रस्ताव – Nepal Press

अमेरिकी संसदलाई राष्ट्रपति बाइडेनको सम्बोधन : सामाजिक सुधारका लागि ४ ट्रिलियन डलर खर्च प्रस्ताव

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलोपटक आज अमेरिकी सदनका दुबै सत्रलाई सम्बोधन गरेका छन् । कार्यभार सम्हालेको सयदिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले सम्बोधन गरेका हुन् ।

रोजगारी, शिक्षा र सामाजिक कल्याणको क्षेत्रमा वृहत लगानी गर्ने योजनाहरु बाइडनले सार्वजनिक गरेका छन् । विश्लेषकका अनुसार बाइडेनले ४ ट्रिलियन डलरको खर्च प्रस्ताव गरेका हुन् ।

उनले यसलाई ‘अमेरिकाले आफ्नो पुस्ताका लागि गरेको अहिलेसम्मकै बृहत लगानी’ भनेका छन् । तर, उनको यो प्रस्तावलाई विपक्षी दल रिपब्लिकनले भने विरोध गरेको छ ।

रिपलिब्कन सांसद टीम स्कटले यसलाई ठूलो सरकारी खर्च दुरुपयोग गर्ने डेमोक्र्याटको चाहना भएको भन्दै विरोध जनाएका छन् । झिनो बहुमतको अन्तर भएको अमेरिकी संसदमा बाइडेनको यो प्रस्तावले कानूनी मान्यता पाउन चाहिँ संसदको सामना गर्नुपर्ने हुन्छ ।

नेपाली समयानुसार विहिबार विहान भएको उक्त राष्ट्रपति सम्बोधनको क्रममा उपराष्ट्रपति कमला ह्यारिस र सभामुख नेन्सी पेलोसी राष्ट्रपति बाइडेनको पछाडि उभिएका थिए । राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधन गर्ने बेला महिला कार्यकारी उभिएको यो पहिलो क्षण भएको जनाइएको छ ।

आफूले जनवरीमा सत्ता सम्हाल्नु अगाडि मुलुक ठूलो संकटमा रहेको बाइडेनले बताए । ‘शताब्दीकै खराब महामारी, ग्रेट डिप्रेसन पछाडिको ठूलो आर्थिक संकट र गृहयुद्धपछि लोकतन्त्रमाथिको सबैभन्दा ठूलो आक्रमण यही बेला भयो’ उनले भने ।

तर, उनले आफ्ना सामु धेरै काम गर्नुपर्ने चुनौति रहेको समेत बताए । बलियो अप्रुभल रेटिङ र दुबै संसदमा डेमोक्र्याट्सको बलियो उपस्थिती भैरहँदा बाइडेनले रोजगारी र पारिवारिक योजना प्रस्तुत गरेका हुन् । ठूला ब्यापारिक संस्थान र धनी अमेरिकीहरुलाई कर वृद्धि गरेर प्राप्त रकमलाई ती योजनामा लगाइने बाइडेनको योजना छ ।

‘हामीले लोकतन्त्र र सरकारले काम गर्छ भन्ने प्रमाणित गर्नुपर्नेछ । जसले गर्दा लोकतन्त्रले राम्रो परिणम दिन सकोस्’ उनले भने ।

तीनदेखि चार वर्षे उमेरका अमेरिकी शिशुलाई निःशुल्क शिक्षा दिने योजना समेटिएको परिवार योजना पनि उनले प्रस्तुत गरे । राष्ट्रपति बाइडेनले सामाजिक सुधारबारे पनि चर्चा गरे । ‘बन्दुकको हिंसा, अध्यागमन र जातिय असमानताबारे पनि सरकार गम्भिर छ’ बाइडेनले उल्लेख गरे ।

बाइडेन आफ्नो परराष्ट्र नीति केही कडारुपमा प्रस्तुत भए । उनले खासगरि चीन र रुसको नाम लिएरै आफ्ना साझेदार र गठबन्धन मुलुकको हितका लागि अमेरिका अडिग हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर