अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार, महामारीमा प्रभावकारी हुने अपेक्षा – Nepal Press

अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार, महामारीमा प्रभावकारी हुने अपेक्षा

काठमाडौं । अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार हुने भएको छ । ‘ह्याप्पी माइन्स् डट हेल्थ’ नाम दिइएको यो सेवाको उद्घाटन गर्दै गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् । उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ह्याप्पी माइन्ड्स् डट हेल्थको सफलताको कामना पनि गरिन् ।

ह्याप्पी माइण्ड्स् डट हेल्थु अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ ।

‘महामारीका बेला मानसिक स्वास्थ्य समस्या’

मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् । डा. शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउंदै रोजगारदाताहरुलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाइ आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे।

ह्याप्पी माइन्ड्स्‌की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन् ।

‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको हो ।’

‘लकडाउनका बेला निरास र एक्लो’

लकडाउनका बेला आफूलाई निरास र एक्लो महसुस गर्दै आफ्नो काम र विश्वविद्यालयको पठन पठन गर्न पनि असमर्थ भएपछि नेपाली मनोचिकित्सकको खोजी गर्दा निकै सास्ती भोगेको उनले बताइन् । ‘त्यसपछि मैले यो समस्याको पहिचान गरी समाधान खोज्ने अठोट लिएँ, त्यसैको प्रतिफल ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको हो,’ गिरीले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *