कोरोनाको ‘दोस्रो लहर’ ले प्रभावित हुन थाल्यो राजनीतिक गतिविधि – Nepal Press

कोरोनाको ‘दोस्रो लहर’ ले प्रभावित हुन थाल्यो राजनीतिक गतिविधि

काठमाडौं । नेपालमा बुधबार २ हजार ३५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र थप १ हजार ५१ जना नयाँ संक्रमित फेला परे । १० जनाको मृत्यु भयो । यसले कोभिड-१९ को दोस्रो लहरको प्रसारको गतिलाई प्रष्ट्याउँछ ।

बढ्दो कारोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सरकारले ६ साउनमा नयाँ स्वास्थ्य मापदण्ड जारी गर्‍यो । कोरोनाको लहर रोक्न सरकारले सार्वजनिक सभा सम्मेलनमा समेत रोक लगाएको छ।

जस अनुसार भौतिकरूपमा उपस्थित भएर सभा, सम्मेलन र गोष्ठी गर्न र सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन पाइँदैन । सभा सम्मेलन गर्नुपरे भर्चुअल माध्यमबाट गनुपर्ने सरकारले जारी गरेको मापदण्डमा उल्लेख छ।

रद्ध हुन थाले राजनीतिक गतिविधि

सार्वजनिक स्थानमा २५ जनाभन्दा उपस्थित हुन नपाइने सरकारले ल्याएको मापदण्डका कारण राजनीतिक कार्यक्रमहरु प्रभावित हुन थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन आजका लागि नेकपा (एमाले) को माधव नेपाल पक्षले आयोजना गर्न लागेको कार्यक्रम २ दिनअघि नै विज्ञप्ति निकालेर स्थगित गरेको थियो ।

काठमाडौंको प्रज्ञा भवन, कमलादीमा विशेष कार्यक्रम सहित भव्यताका साथ कम्युनिष्ट पार्टी मनाउने तयारी नेपाल पक्षको थियो । तर, कोरोनाको दोस्रो लहर व्यापक रुपमा फैलिएको भन्दै कार्यक्रम स्थगित गरेको बताइएको छ।

‘हाम्रो कार्यक्रम तयारीकै अवस्थामा विश्वभरि फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि पुनः तिव्र रुपमा फैलिरहेको समाचार प्राप्त भएका छन्,’ नेता योगेश भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै ९ बैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ।’

त्यस्तै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मानमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपालसहितको गठबन्धनको तर्फबाट पूर्व प्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको उपस्थितिमा ७ वैशाखमा तय कार्यक्रम पनि स्थगित गरियो । ‘कोरोना महामारीका कारण सरकारले जारी गरेको प्रोटोकललाई मध्यनजर गर्दै स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ को संक्रमण बढेको भन्दै नेकपा (माओवादी केन्द्र) यसको नियन्त्रणमा खटिने भएको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोरोनाको दोस्रो लहर तीब्र भएको भन्दै यसविरुद्ध नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो । ‘अहिले देशमा फेरि कोभिड-१९ को दोस्रो लहरले तीब्र रुप लिन थालेको छ,’ बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘यस सन्दर्भमा हाम्रो पार्टीले आफ्नो पार्टीका नेता कार्यकर्ता र सिंगो कमिटी र पार्टी पङ्तीलाई जनचेतना जागरण, सहजीकरण र सहयोगका काममा संलग्न भएर संक्रमणबाट सिंगो समाजलाई बचाउन निर्देशित गरिएको छ ।’

आफैंले ल्याएको मापदण्ड नमानेको भन्दै सरकारको आलोचना

कोरोना नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड जारी गर्ने सरकार आफैंले त्यसको पालना नगरेको भन्दै त्यसको आलोचना समेत भएको छ।

माओवादी केन्द्रले सरकारले आफैंले गरेका निर्णयका विरुद्ध आचरण गरेको भन्दै दुःख प्रकट गरेको छ। ‘सरकारले आफैंले गरेका निर्णयका विरुद्ध आचरण गरेकोमा सरकार कोभिड-१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएको कुराका निम्ति हामीले दुःख पनि प्रकट गरका छौं,’ श्रेष्ठले पत्रकारहरुसँग भने, ‘र, आफूले घोषणा गरेका सम्पूर्ण आचारणलाई लागू गर्न हामीले आह्वान पनि गरेका छौं ।’

एमालेको नेपाल पक्षले पनि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नै मापदण्डविपरीत काम गरिरहेको भन्दै आलोचना गरेको छ। ‘राष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्री नै जारी स्वास्थ्य मापदण्डविपरीत ठूला बैठक, सभा र कार्यक्रमहरूमा सहभागी भइरहनु लज्जाको विषय हुनुपर्ने हो,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफैँले जारी गरेको स्वास्थ्य मापदण्डविपरीत यस्तो गर्नु कोरोना महामारीको फैलँदो संक्रमणलाई बेवास्तामात्र होइन जनस्वास्थ्यप्रतिको गम्भीर खेलवाड एवम् गैरजिम्मेवारीपनको पराकाष्टा हो ।’

मन्त्रिपरिषद्‍बाट स्वास्थ्य मापदण्ड जारी भएलगत्तै ६ वैशाखमा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । २५ जना भन्दा बढी भेला हुन नपाइने भने पनि उक्त बैठकमा १ सय ५० जनाभन्दा बढी आयोजक कमिटी सदस्यहरू उपस्थित थिए ।

भोलिका लागि पुन: बैठक तय गरिएको छ । अबको बैठक के हुन्छ र कसरी संचालन हुन्छ भन्ने अन्योल छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वैकल्पिक व्यवस्था गरेर बैठक संचालन गर्ने बताए । ‘मापदण्ड पालना हुने गरी हामी कुनै व्यवस्था गरेर बैठक राख्छौं,’ उनले ६ वैशाखका निर्णय सुनाउँदै संवाददाताहरूसँग भनेका थिए ।

७ वैशाखमै प्रधानमन्त्री केपी ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवनको अयोध्यामा पठाउन बालुवाटारमा वैदिक अनुष्ठानसहितको पूजा आयोजना गरे । शोभा रथयात्रासहित मूर्तिहरू चितवन पुर्‍याउन आयोजना गरिएको उक्त कार्यक्रममा सरकारले तोकेभन्दा धेरै उपस्थित भएको देखिन्छ । यसको पनि आलोचना भएको छ । तर, सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर