प्रचण्ड-माधव पक्षले भन्यो-नेकपा विवाद निरुपण नगरी निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन


काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले नेकपाको आधिकारिकता टुंगो नलगाई निर्वाचन सम्बन्धी कुनै प्रक्रिया अघि बढाउन नमिल्ने बताएको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार नेकपाको आधिकारिता दाबी गर्दै आयोग पुगेका नेताहरुले पहिले नेकपा विवादको निरुपण हुनुपर्ने बताए ।
आयोग पदाधिकारीलाई पत्र बुझाएर फर्किने क्रममा वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता सम्बन्धी दाबी बल्ल शुरू भएको बताए । उनले आयोगले कानूनबमोजिम अब प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने बताए ।
नेकपा नेता राजेन्द्र पाण्डेले २७५ जना केन्द्रीय कमिटी सदस्यको संख्या आयोगमा पेस भएको बताए । आयोगले ६४ प्रतिशत जनमत बोकेको पार्टी नेकपाको आधिकारिकता टुंगो नलगाई कुनै पनि निर्वाचन प्रक्रिया अघि बढाउन नसक्ने उनको भनाइ छ ।
निर्वाचन आयोगमा प्रचण्ड पक्षले केपी ओलीलाई साधारण सदस्य र विष्णु पौडेललाई महासचिवबाट हटाएको जानकारी समेत दिएको अर्का नेता लिलामणी पोखरेलले बताए ।