पीएम कप सेमिफाइनलः एपीएफबिरुद्ध टस जितेर फिल्डिङ गर्दै पुलिस
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा अहिले बिभागीय टोलीहरु एपीएफ र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक विजेता नेपाल पुलिसले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ ।
यी दुई टोलीहरुले यसअघिका तीनै संस्करणमा सेमिफाइनलमा भेटेका थिए । जसमा नेपाल पुलिस २ र एपीएफ एकपल्ट विजयी भएको थियो ।
यो खेलको विजेताले त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश टोलीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलमा एपीएफले केहि परिवर्तन गरेको छ । नियमित टोलीमा रहँदै आएका बसन्त रेग्मी किशोर महतो र प्रदीपसिंह ऐरी लाई आराम दिइएको छ । उनीहरुको स्थानमा युवा खेलाडीहरु सूर्य तामाङ, शंकर राना र अमरसिंह रौटेला सुरुआती–११ मा अटाएका छन् ।
नेपाल पुलिसले भने अघिल्ला खेलको सुरुअती टिममा कुनै परिवर्तन गरेको छैन ।