प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो – Nepal Press

प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)ले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको छ।

दुई दिन बसेर साेमबार सकिएको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङको ठाउँमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै लुम्बिनी प्रदेश इन्चार्ज पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेपाल प्रेसलाई बताए ।

बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ। प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो ।

ओली पक्षका ९ प्रदेश पदाधिकारी हटाउन छलफल जारी

बैठकमा प्रदेश १, २, वागमती, कर्णाली र सुदूरपश्चिमका बारेमा भने केही निर्णय हुन सकेन । यी प्रदेशका ९ प्रदेश पदाधिकारी ओली पक्षतिर लागेकाले प्रचण्ड–माधव पक्षले त्यहाँ आफ्ना पक्षबाट नेतृत्व चयन गर्नुपर्नेछ।

रिक्त नेतृत्व चाँडै नियुक्त गरिने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा रहेको कार्यदलले यसलाई टुंग्याउने भएको छ।

प्रदेश १ का अध्यक्ष देवराज घिमिरे ओली पक्षतिर लागेका छन् । प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेका छन्।

त्यस्तै वागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल पनि ओली पक्षतिर लागेका छन्। कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटी र सहइन्चार्ज यामलाल कँडेल पनि ओली पक्षमा लागेकाले त्यहाँ नयाँ नेतृत्व ल्याउनुपर्नेछ।

त्यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सहइन्चार्ज लेखराज भट्ट पनि ओली पक्षतिरै लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर