माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिँदै, भदौदेखि ४५६ मेगावाट नै जोडिने – Nepal Press

माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिँदै, भदौदेखि ४५६ मेगावाट नै जोडिने

आयोजनाको लागत १३५ प्रतिशतले बढेर करिब ८३ अर्ब पुग्यो

काठमाडौं । निर्माण सुरु भएको १० वर्षपछि माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । ४५६ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको एक युनिटबाट सोमबार ७६ मेगावाट प्रसारण लाइनमा जोडिने भएको हो ।

छ वटा युनिटमध्ये अहिलेसम्म तीन वटाको सफल परीक्षण भएको र त्योमध्ये एक वटा युनिटबाट उत्पादित बिजुली प्रसारण लाइनमा जोड्ने तयारी भएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार अर्को साता दोस्रो युनिटबाट थप ६७ युनिट बिजुली प्रसारण लाइनमा जोडिनेछ ।

न्यौपानेले भदौसम्ममा ४५६ मेगावाट नै बिजुली प्रसारण लाइनमा जोडिने बताए ।

२०६८ साल जेठ ४ गते शिलान्यास भएको उक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवका आयोजनामध्येको एक हो । शिलान्यास भएको ५ वर्षभित्र ३५ अर्ब २९ करोड रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, २०७२ सालको भूकम्प, तराई मधेस आन्दोलन तथा नाकाबन्दी, कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनलगायतले आयोजनाको काम प्रभावित भएको थियो ।

समयमा नै निर्माण सम्पन्न हुन नसक्दा आयोजनाको लागत १३५ प्रतिशतले बढेर करिब ८३ अर्ब पुगेको छ ।

आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइनको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । त्यस्तै, खिम्तीदेखि गर्जाङसम्मको १३२ केभी प्रसारण लाइन परीक्षण अन्तिम चरणमा पुगेको शाक्यले बताए ।

बिहीबार आयोजनाको पावर हाउसको परीक्षण भएको छ । पावर हाउसबाट क्रमशः लोड बढाउँदै बिजुली पठाउने शाक्यले जानकारी दिए । उनका अनुसार २५, ५० र १०० प्रतिशतका दरले लोड बढाइने छ ।

आयोजनाले उत्पादन गरेको बिदुली नेपाल विद्युत् प्राधिकरणले औसत चार रुपैयाँका दरले खरिद गर्ने सम्झौता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *