नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय – Nepal Press

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपुर । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७ सय उद्योग व्यवसाय थपिएका छन् ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए ।

कोरोना कहरकै बीच जिल्लामा यो सङ्ख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उनले जनकारी दिए ।

कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको सङ्ख्यामा कमी नआएको कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।

सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराएकाले उद्योग दर्ता बढेको उद्योग कार्यलयको भनाइ छ हो । ‘राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ’, प्रमुख सुवेदीले भने, ‘यसैले यसतर्फ नागरिकको आकर्षण बढदै गएको छ ।

कोरोनाको असरले अन्य रोजगारका बाटो बन्द हुँदा विकल्पका रूपमा आफैँले कृषि र पशुपालन गर्नु अर्को कारण भएको उनले बताए । नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र भएकाले यहाँ धेरैजसो यसतर्फ आकर्षित हुन थालेका छन् ।

कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्नसमेत सहज हुँदा यस क्षेत्रमा लगानी बढेको प्रमुख सुवेदीको भनाइ छ । ‘कोरोना कहरका कारण अहिले अन्य पेशा, व्यवसाय नहुँदा, स्वरोजगारमूलक पेशाका रूपमा कृषि, पशुपालनमा लगानी गर्ने बढेका छन्’, कार्यालय प्रमुख सुवेदीले भने ।

चालु आर्थिक वर्षको १० महिनामा ५१६ उद्योग नवीकरण भएका छन् । यसै अवधिमा ६९२ व्यवसाय नवीकरण भएको कार्यालयले जानकारी दिएको छ ।

निधेषाज्ञाका कारण अहिले नयाँ उद्योग तथा व्यवसाय दर्ता नभएको कार्यालय प्रमुख सुवेदीले बताए । अवस्था सामान्य भएको भए नयाँ उद्योग तथा व्यवसाय थप हुने सङ्ख्या अझै बढ्नेमा निषेधाज्ञाका कारण पछिल्ला केही महिनामा दर्तामा कमी आएको उनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नवीकरण, ठाउँसारी, पूँजी वृद्धि, उद्देश्य थपमार्फत १० महिनामा कूल एक करोड १९ लाख ५२ हजार २७० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

उद्योग तर्फबाट ६६ लाख ३५ हजार ९७५ रुपैयाँ र वाणिज्यतर्फ ५३ लाख १६ हजार २९५ रुपैयाँ राजश्व सङ्कलन भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर