कोरोना अस्पतालमै अक्सिजन अभाव, भारततिर हुने तस्करी रोक्न आग्रह – Nepal Press

कोरोना अस्पतालमै अक्सिजन अभाव, भारततिर हुने तस्करी रोक्न आग्रह

रुपन्देही । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्दै गएपछि कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । अन्य अस्पतालमा पनि अक्सिजन प्रयोग गर्ने बिरामी बढ्दै अभाव हुन थालेको छ । कोरोना संक्रमणको दोस्रो लहरको रुपमा संक्रमणदर उकालो लागेपछि अस्पतालहरुमा स्वासप्रश्वासका विरामी बढिरहेका छन् ।

रुपन्देहीमा २ हजार सक्रिय संक्रमित पुगेका छन् । पहिलेको भन्दा अहिले धेरै संक्रमितलाई अक्सिजन आवश्यक भएको स्वास्थ्यकर्मीको भनाइ छ । रुपन्देहीमा बुटवल र भैरहवामा २ वटा कोरोना विशेष अस्पताल छन् । यी २ अस्पतालमा अक्सिजन प्रयोग गर्नुपर्ने गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुले भरिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले मागअनुसार अक्सिजन आपूर्ति नहुँदा रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको बताए ।

खनालले प्रतिदिन १ सय ५० सिलिण्डर आवश्यक रहेकोमा अहिले १ सय २० सिलिण्डर अक्सिजन मात्रै आपूर्ति हुँदा कोरोना विशेष अस्पतालमा उपचारत संक्रमितको उपचारमा असहज भएको जानकारी दिए । पछिल्ला दिनहरुमा अस्पतालमा भर्ना भएका धेरैलाई अक्सिजन लगाउनुपर्ने भएपनि दैनिक अहिले ३० वटा भन्दा कम अक्सिजन सिलिण्डर आपूर्ती भएको उनले बताए ।

हाल अस्पतालमा रहेको अक्सिजन जेनेरेशन प्लान्ट (अक्सिजन उत्पादन गर्ने मेसिन)ले काम समेत गरेको छैन । अहिले अस्पतालको आइसीयू/एचडियूमा उपचार गराइरहेका १३ जना र भेन्टिलेटरमा राखिएका दुई जनाको उपचारमा अक्सिजन कम आपूर्ति हुँदा समस्या भएको खनालले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताललाई नेपालगञ्जको एचओ अक्सिजन कम्पनीले तरल अक्सिजनका सिलिन्डहरु आपूर्ती गरिरहेको छ । यसअघि नै कम्पनीले अस्पतालले माग गरेजति अक्सिजन सप्लाई गर्न नसक्ने बताइसकेको छ ।

रोटरी क्लब अफ बुटवलको सहयोगमा काठमाडौंको मेडिअक्सी प्रालिले जडान गरिदिएको अक्सिजन प्लान्टको कम्प्रेशर वालमा चुहावट भएर कम शुद्धता भएको अक्सिजन उत्पादन हुन थालेपछि प्लान्ट बन्द गरिएको अस्पतालले बताएको छ ।

अक्सिजन प्रयोग हुने अन्य उद्योग बन्द गर्न आग्रह

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. समीरकुमार अधिकारीले भारतमा संक्रमणको अवस्था खराब भइ अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए ।

पत्रमा अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भइ स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न उल्लेख गरिएको छ ।

लुम्बिनीका ४ उद्योगलाई अक्सिजन व्यवस्था गर्न प्रदेश सरकारको अनुरोध

लुम्बिनी प्रदेशमा ४ वटा अक्सिजन उत्पादन गर्ने उद्योग छन् । अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि प्रदेश सरकारले अक्सिजनको जोहो गरिदिन प्रदेशमा सञ्चालित चार वटा अक्सिजन उत्पादक उद्योगसँग अनुरोध गरेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगहरुको क्षमता बढाइ अक्सिजन उत्पादन बढाउन आग्रह गरिएको स्वास्थ्य मन्त्री लिला गिरीले बताए ।

उनले भने – प्रदेशमा रहेका चार वटा अक्सिजन उत्पादक उद्योगहरुको क्षमता बढाउन अक्सिजन उत्पादक उद्योगका लागि चौबिसै घण्टा विद्युत् आपूर्ती गर्ने र सिलिन्डर खरिदमा सरकारले सहयोग गर्ने सहमति भएको छ ।

उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न थालेपछि अस्पतालमा अक्सिजनको कमी नहुने प्रदेश सरकारको अनुमान छ ।

कोरोना अस्पतालले रकम नपाएको गुनासो

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालकोे कोरोना विशेष आइसोलेसन अस्पतालले प्रदेश सरकारबाट ५ करोड रुपैयाँ पाउन बाँकी रहेको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा संचालित कोरोना विशेष अस्पतालमा हाल चिकित्सक र स्वास्थ्यकर्मी गरी १ सय २६ जना कार्यरत छन् । अस्पतालमा ३६ बेडको एचडियू कक्ष निर्माण भइरहेको छ भने २ वटा भेन्टिलेटरसहित १४ बेडको आईसियू अहिलेपनि संचालनमा छ ।

२०७६ चैत्र महिनाबाट शुरु गरिएको कोरोना विशेष अस्पतालमा आईसियू निर्माण, संक्रमितहरुको उपचार, पीसीआर परिक्षण तथा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई राखेको होटलको रकम गरी ५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

गत कात्तिक महिनासम्मको ५ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेकोले आइसोलेसनको थप बिस्तारमा समस्या भएको डा. खनालको भनाइ छ । ५ करोडमध्ये कात्तिकसम्म गरिएको पिसिआर परीक्षणको दुई करोड ३१ लाख, करिब १ करोड चिकित्सक र स्वास्थ्यकर्मी होटलमा बसेको तथा आईसियू र आईसोलेसन तयार गर्दा खर्च भएको करिब दुई करोड रुपैयाँ बाँकी रहेको उनले बताए ।

सरकारले कोरोना संक्रमितहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेपनि अस्पताललाई श्रोतको व्यवस्थापन गर्न नसकेको डाक्टर खनालको भनाइ छ । यसअघि स्वास्थ्य मन्त्रालयको समेत जिम्मा लिएका सामाजिक विकास मन्त्रालयको बेवास्ता तथा ढिलासुस्तीका कारण रकम भुक्तानी हुन नसक्दा अहिले चाहेर पनि समयमा एचडियू संचालनमा ल्याउन नसकिएको डा. खनालले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *