प्रदेश २ : नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन सात दिने सूचना – Nepal Press

प्रदेश २ : नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन सात दिने सूचना

जनकपुरधाम । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न प्रदेश २ को प्रदेशसभाले सूचना निकालेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा स्थायी राजधानी र नाम तोक्ने प्रस्ताव दर्ता गर्न वैशाख ९ गते दिनको ३ बजेसम्मको समय दिइएको छ ।

झण्डै ६ महिनापछि चैत ३० मा बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी र सतारूढ दलकै सांसदहरूले पनि स्थायी राजधानी र नाम तोक्न नसकेकोमा सरकारको आलोचना गरेका थिए । सोही कारण सरकारको आग्रहमा प्रदेशसभाले बिहीबार नै प्रस्ताव दर्ता गराउन सूचना जारी गरेको बुझिएको छ ।

प्रदेशसभा गठन भएको साढे तीन वर्ष वित्न लाग्दा पनि नाम र स्थायी राजधानी तोक्न नसक्दा प्रदेश सरकारको जताततै आलोचना भइरहेको छ ।

प्रदेश २ लाई ‘दुई नम्बरी’ भनेर मजाक उडाउने गरेको प्रसंग कतिपय सांसदले पटक-पटक प्रदेशसभा बैठकमै उठाएका छन् । यही कारणले प्रदेश प्रमुख राजेश झाले ‘ कृपया, २ नम्वर प्रदेश होइन्, प्रदेश नम्वर २ भन्ने बानी बसालौं’ सूचना नै आफ्नो कार्यकक्षमा टाँसेका छन् ।

यसअघि ०७६ चैत ४ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चार प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ प्रस्ताव दर्ता भएको थियो । तर दलहरुबीच सहमति नजुट्दा प्रदेशसभामा मतदान नै भएपनि दुई तिहाई बहुमत नपुगेपछि सबै प्रस्ताव अस्वीकृत भएको थियो ।

सतारूढ जसपाले प्रदेशको नाम ‘मधेश’, तत्कालीन नेकपाले ‘मिथिला भोजपुरा’ र कांग्रेसले ‘जानकी’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । यद्यपि केही सांसदबाहेक सबै दल स्थायी राजधानी जनकपुरधामलाई तोक्नुपर्नेमा सहमत भएका थिए । तर, प्रदेशको नाम मधेश नराख्दा सत्तारूढ दलले चलाखीपूर्ण तरिकाले राजधानीको प्रस्ताव पनि फेल गराइयो ।

प्रदेश २ मा कुल १०७ सांसद थियो । एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई माओवादीले पदमुक्त गरेपछि अब १०३ सांसद बाँकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर